एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा बिहीबार मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलुरुको सामना गर्दै छ । खेल मुम्बईस्थित वानखेड स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । आईपीएलको जारी संस्करणमा मुम्बई इन्डियन्सले आफ्नो पाँचौँ खेल खेल्न लागेको हो । यसअघि खेलिएको चारमध्ये एक खेलमा मात्र मुम्बईले जित हात पार्न सकेको छ । बाँकी तीन खेलमा भने मुम्बई पराजित भएको छ । मुम्बईले सुरुको तीन खेलमा लगातार हारको सामना गर्नु परेको थियो ।
मुम्बई आफ्नो पहिलो खेलमा गुजरात टाइटन्ससँग ६ रनले र दोस्रो खेलमा सनराइजर्स हैदराबादसँग ३१ रनले पराजित भएको थियो । मुम्बई आफ्नो तेस्रो खेलमा राजस्थान रोयल्ससँग ६ विकेटले पराजित भएको थियो । चौथो खेलमा भने मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई २९ रनले हराएको थियो । बैंगलुरुले भने जारी सिजनको आईपीएलमा आफ्नो छैटौँ खेल खेल्न लागेको हो । यसअघि खेलिएको पाँचमध्ये एक खेलमा मात्र बैंगलरु विजयी भएको छ । बाँकी चार खेलमा बैंगलुरुले नमिठो हारको सामना गर्नु परेको छ ।
बैंगलुरु आफ्नो पहिलो खेलमा चेन्नई सुपर किङ्ससँग ६ विकेटले हारेको थियो । दोस्रो खेलमा भने बैगलुरुले पञ्जाब किङ्सलाई चार विकेटले हराएको थियो । त्यसपछि बैंगलुरु तेस्रो खेलमा कोलकाता नाइट राइडर्ससँग सात विकेटले पराजित भएको थियो ।
यसैगरी बैंगलुरु आफ्नो चौथो खेलमा लखनउ सुपर जाइन्ट्ससँग २८ रनले पराजित भएको थियो । बैंगलुरु पाँचौँ खेलमा पनि राजस्थान रोयल्ससँग ६ विकेटले हारेको थियो । समग्रमा जारी आईपीएलमा मुम्बई र बैंगलुरु दुबैको प्रदर्शन अत्यन्तै निराशाजनक देखिएको छ।
मुम्बई दुई अंकसहित तालिकाको आठौँ स्थानमा छ । समान अंक बटुलेको बैंगलुरु तालिकाको नवौँ स्थानमा आसिन छ । बैंगलुरुको तुलनामा मुम्बईको नेट रन रेट केही राम्रो छ । मुम्बई र बैंगलुरुबिच बिहीबार राति हुने खेल जारी आईपीएलको २५औँ खेल हो ।