बुटवल ।
नारायणगढ सडक खण्ड विस्तार अन्तर्गत खरेनीदेखी चरङ्गेसम्मको सडक विस्तार कार्यलाई तिब्रता दिन देवदह नगरपालिकाले सक्रियता देखाएको छ। सडक विस्तार तीब्र गतिमा संचालन गर्न चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ्ग कर्पोरेसन र देवदह नगरपालिकाबिच नदिजन्य पदार्थ उत्खननका लागि सम्झौता भएको छ। देवदह नगरपालिका वडा नं. ३ र तिलोत्तमा नगरपालिका वडा नं. ११ को सिमाना क्षेत्रमा रहेको रोहिणी नदिमा अवस्थित सिंचाई प्रयोजनार्थ निर्मित रोहिणी नदि सिंचाई ड्यामबाट नदिजन्य पदार्थ उत्खननका लागी बुधबार सम्झौता भएको हो।
सम्झौता पत्रमा देवदह नगरपालिकाको तर्फबाट नगर प्रमुख ध्रुव प्रसाद खरेल, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा र चाइना स्टेट कन्स्ट्रक्सनका तर्फबाट आयोजना प्रमुख डेङ्ग झियोङ्ग र इन्जिनियर बोडुरु सत्यनारायणमले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता अनुसार उक्त क्षेत्रमा प्रारम्भिक वातावरणिय परिक्षण प्रतिवेदन र प्राविधिक प्रतिवेदनले तोकिएको ५८५००.०० घनमिटर भस्कट प्रचलीत कानून बमोजिमको राजश्व लिई बुटवल- नारायणघाट सडक परियोजनालाई ( राष्ट्रिय गौरवको आयोजनालाई दिने गरि उत्खनन गर्न लागिएको देवदह नगरपालिका प्रमुख ध्रुव प्रसाद खरेलले बताउनुभयो।
नगर स्तरिय प्राकृतिक स्रोत अनुगमन तथा व्यवस्थापन समितिका संयोजक समेत रहेका नगरप्रमुख खरेलले उक्त सम्झौताले खैरेनीदेखी चरङ्गे सम्मको सडक छिटो सम्पन्न गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उत्खनन् कार्यलाई व्यवस्थित, मर्यादित, पारदर्शी र वातावरणमैत्री बनाउन देवदह नगरपालिकाको नदिजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७७ पहिलो संसोधन २०७९ सहित को दफा १२ को व्यवस्था बमोजिम नगर प्रमुखको संयोजकत्वमा रहेको प्राकृतिक स्रोत अनुगमन तथा व्यवस्थापन समितिलाई पुर्ण रुपमा परिचालन गर्ने बताइएको छ।
उत्खनन् कार्य अवधीभर खटिने सम्पुर्ण अनुगमन तथा व्यवस्थापनमा रहने जनप्रतिनिधी, कर्मचारी तथा अन्य समितिका सदस्यहरुको पुर्ण रुपमा सुरक्षाको प्रत्याभूती गर्ने कार्य स्थानीय प्रशासन र नगर प्रहरीको उच्च प्राथमिकतामा राख्ने साथै सो समयमा सो क्षेत्रमा हुन सक्ने अवैध चोरी निकासी जस्ता विषयलाई पुर्ण रुपमा रोक्न प्रभावकारी योजना सहितको सुरक्षा प्रवन्ध स्थानीय प्रशासनले मिलाउने देवदह नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो ।
सम्झौता कार्यक्रममा नगर प्रबक्ता गणेश डुम्रे, वडा नम्बर ३ का वडा अध्यक्ष यज्ञ प्रसाद अर्याल, देवदह प्रहरी चौकीका इन्चार्ज एक्का बहादुर चौधरी, तिलोत्तमा र देवदहका राजश्व शाखाका प्रमुख बिष्णु प्रसाद बश्याल, इन्जिनियर रवि पाण्डे, नगर शिक्षा समितिका सदस्य निर्मल ढुङ्गाना लगायतको सहभागिता रहेको थियो ।