काठमाण्डौ ।
अमेरिकाको सिनेटले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने विवादास्पद विधेयक अनुमोदन गरेको छ । विधेयकले टिकटकको स्वामित्व भएको चिनियाँ कम्पनी बाइटड्यान्सलाई नौ महिनाभित्र आफ्नो स्वामित्व बिक्री गर्ने वा अमेरिकामा प्रतिबन्ध खेप्ने विकल्प दिएको छ ।
यो विधेयक राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेपछि लागू हुन्छ । राष्ट्रपति बाइडेनले विधेकक आफूकहाँ आएपछि अविलम्ब हस्ताक्षर गर्ने बताउनुभएको बीबीसीले जनाएको छ । सिनेटमा विधेयकको पक्षमा ७९ र विपक्षमा १८ जनाले मतदान गरेका छन् ।
युनिभर्सिटी अफ रिच्मन्डका कानुनका प्राध्यापक कार्ल टोबियासले यो मुद्दामा लामो कानुनी लडाइँ शुरु हुन सक्ने र त्यो झन्डै दुई वर्षसम्म चल्न सक्ने बताउनुभएको छ । बाइटड्यान्सले अमेरिकी सिनेटको निर्णयबारे आफ्नो कुनै प्रतिक्रिया नभएको बीबीसीलाई बताएको छ।
यसअघि गएको महिना टिकटकका प्रमुख कार्यकारी शोउ जी चुले टिकटकको रक्षाका लागि आफ्नो कानुनी अधिकार प्रयोग गर्न यथासम्भव सबै कुरा गर्ने बताउनुभएको थियो । टिकटकबाट लाखौँ अमेरिकी प्रयोगकर्तासँग सम्बन्धित तथ्याङ्क चीनले हात पारेको वा पार्न सक्ने अमेरिकाको आशङ्का छ ।
सिनेटले टिकटकसम्बन्धी विषयसहित युक्रेन, इजरायल, ताइवान र इन्डो–प्यासिफिक क्षेत्रका अन्य अमेरिकी साझेदारहरूलाई सैन्य सहयोग दिने विषय गरी चार वटा विधयेक पनि पारित गरेको छ । -एजेन्सी