काठमाण्डौ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा शुक्रबार कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्सको सामना गर्दैछ । यी दुई टोलीबिचको खेल कोलकातास्थित ईडेन गार्डेन्स स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ४२औँ खेल हो । यो सिजन कोलकाताले आठौँ र पञ्जाबले नवौँ खेल खेल्न लागेका हुन् । जारी सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आएको कोलकाताले यसअघि खेलिएको सातमध्ये पाँच खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ ।
कोलकाता १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । १४ अङकसहित राजस्थान रोयल्स पहिलो स्थानमा आसिन छ । हालसम्म आठ खेल खेलेको राजस्थानले सात खेलमा जित हासिल गरिसकेको छ । राजस्थान एक खेलमा मात्र पराजित भएको छ । अर्कोतिर, जारी सिजनको आईपीएलमा पञ्जाबले अत्यन्तै खराब प्रदर्शन गर्दै आएको छ । पञ्जाब यसअघि खेलिएको आठमध्ये ६ खेलमा पराजित भइसकेको छ । पञ्जाबले केवल दुई खेलमा जित हात पारेको छ । पञ्जाब चार अङ्कसहित तालिकाको नवौँ स्थानमा छ ।
हालसम्म नौ खेलबाट चार अङ्क जोडेको रोयल च्यालेन्जर्स बैंगलुरु भने तालिकामा सबैभन्दा तल अर्थात, १०औँ स्थानमा छ । कोलकाता र पञ्जाब यो सिजनको आईपीएलमा पहिलो पटक आपसमा भिड्न लागेका हुन्। -एजेन्सी