काठमाण्डौ ।
आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ तारिखमा सुरु हुँदैछ । टी–२० विश्वकप अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मे १ तारिखभित्र टोलीको घोषणा गर्नुपर्ने समय तोकेको छ । तर, हालसम्म न्युजिल्यान्डले मात्र विश्वकपका लागि टोलीको घोषणा गरेको छ । भारतले पनि मंगलबार टी–२० विश्वकपका लागि टोलीको घोषणा गर्ने सम्भावना छ। यसका लागि हाल भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को बैठक बस्दैछ ।
बैठकअघि कप्तान रोहित शर्माले बीसीसीआईलाई आफ्नो सुझाव दिएका छन् । उनले विराट कोहलीलाई पनि विश्वकप टोलीमा समावेश गरिनु पर्ने सुझाव बीसीसीआईलाई दिएका हुन् । पछिल्लो समय विराटलाई टोलीमा समावेश गर्ने वा नगर्ने भन्ने विषयमा बीसीसीआई दोधारमा देखिएको छ । विराटलाई टोलीमा समावेश गर्दा विश्वकपमा भारतको ब्याटिङ पक्ष बलियो हुने कप्तान रोहितको सुझाव छ । यसका अतिरिक्त विराट सिनियर र अनुभवी खेलाडी भएकाले त्यसको सकारात्मक प्रभाव पनि टोलीमा पर्ने रोहितको बुझाई छ। -एजेन्सी