बुटवल ।
बुटवल उपमहानगरपालिकाले पछिल्लो समय निकै गर्मी बढेको भन्दै नगरभित्रका सबै विद्यालयमा २ दिन बिदा दिएको छ । बुटवल उपमहानगरपालिकाले एक सूचना जारी गर्दै आज र भोली अर्थात वैशाख २० र २१ गते विद्यालयहरुमा बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जारी गरेको सूचनामा केही दिनयता तातो हावा चल्न थालेकोले विद्यार्थीहरुको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने देखिएकाले वैशाख २० गते बिहीवार र २१ गते शुक्रवारका लागि नगरभित्रका सबै विद्यालयमा बिदा दिन निर्देशन दिइएको उल्लेख छ ।
विद्यालय बन्द भए पनि जारी कक्षा १२ को परीक्षा भने यथावत् रहने उपमहानगरको सूचनामा उल्लेख छ ।मौसम पूर्वानुमान महाशाखाले एक हप्ताअघि नै वैशाख २० गतेसम्म तातो हावा चल्ने जानकारी गराएको थियो ।