काठमाण्डौ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) को ६० औँ खेलमा आज कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सको सामना गर्दैछ । खेल कोलकाताको घरेलु मैदान इडेन गार्डेन स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ । यो सिजन कोलकाता र मुम्बईबिचको दोस्रो खेल हुनेछ । पछिल्लो खेलमा कोलकाता २४ रनले विजयी भएको थियो ।
आज कोलकाताको सिजनको १२ औँ खेल हुनेछ । टोलीले ११ खेलमध्ये ८ मा जित र ३ मा हार बेहोरेको छ। टोली अङ्क तालिकाको शीर्ष स्थानमा छ । यता मुम्बईको यो १३ औँ खेल हुनेछ, १२ खेलमध्ये ४ जित र ८ हारमा बेहोरेको मुम्बई ८ अंकसहित नवौँ स्थानमा छ । आजको खेल जितेर केकेआर प्लेअफमा पुग्ने छ । मुम्बई भने यसअघि नै प्लेअफको दौडबाट बाहिर भइसकेको छ।
- हेड टु हेडमा मुम्बई अगाडि
मुम्बई हेड टु हेडमा कोलकाताभन्दा अगाडि छ । यी दुईबिच ३३ आईपीएल खेल भएका छन्, जसमा मुम्बईले २३ र कोलकाताले १० खेल जितेका छन् । दुवै टोली इडेन गार्डेनमा १० पटक भिडेका छन् । यसमध्ये मुम्बईले ७ पटक जितेको छ भने केकेआरले ३ पटक मात्रै जितेको थियो । -एजेन्सी




