काठमाण्डौ ।
भारतको राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले सक्रिय खेल जीवनबाट सन्न्यास लिने घोषणा गरेका छन्। विश्वकप छनोट फुटबलअन्तर्गत निकट भविष्यमा खेलिने कुवेताविरुद्धको खेलसँगै आफूले सक्रिय खेल जीवनबाट सन्न्यास लिने उनले बताएका छन् । भारत र केवेतबिचको विश्वकप छनोट खेल जुन ६ तारिखमा खेलिने छ । सोही खेल नै सुनिल क्षेत्रीको अन्तिम अन्तर्राष्ट्रिय खेल हुनेछ । सुनिल क्षेत्री भारतीय टोलीको थुप्रै सफलताका नायक हुन् । ३९ वर्षीय सुनिल क्षेत्रीले भारतका लागि कुल एक सय ४५ खेल खेलिसकेका छन्।
आफ्नो २० वर्ष लामो अन्तर्राष्ट्रिय खेल जीवनमा उनले भारतका लागि कुल ९३ गोल गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै सक्रिय खेलजीवनबाट सन्न्यास लिने बताएका हुन् ।
सुनिल क्षेत्रीले सामाजिक सञ्जालमा करिब नौ मिनेट लामो भिडियो पोष्ट गरेका छन् र त्यसको शीर्षक राखेका छन्, ‘म तपाइँलाई केही भन्न चाहन्छु ।’ उक्त भिडियोमा सुनिल क्षेत्री निकै भावुक देखिएका छन् । उनले आफ्नो ‘डेब्यू’ खेलको पनि स्मरण गरेका छन् ।
यसका अतिरिक्त सुनिल क्षेत्रीले आफ्ना पहिलो प्रशिक्षकको स्मरण पनि गरेका छन् । ‘आफ्नो अन्तर्राष्ट्रिय डेब्यू खेललाई म भुल्न सक्दिन । पहिलो अन्तर्राष्ट्रिय खेलमै गोल गरेको क्षण अहिले पनि मलाई राम्ररी याद छ,’ उनले भनेका छन् । -एजेन्सी