काठमाण्डौ ।
रुपन्देहीको देवदहमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु भएको छ। देवदह नगरपालिकाको आयोजनमा आइतबारबाट मेलमिलाप सम्बन्धी ८ दिने आधारभूत तालिमको सुरु भएको हो । वडास्तरमै मेलमिलापकर्ताको उत्पादन गरी न्याय सम्पादनलाई सहज बनाउनका लागि नगरका १२ वटा वडाका सहजकर्ता सहभागि गराई तालिम संचालन गरिएको छ ।
मेलमिलापकर्ताले वडा स्तरमा रहेका मेलमिलाप केन्द्रमा रहेर मेलमिलापको काम गर्ने छन् । नगरपालिका भित्रका समस्या स्थानीय स्तरमा नै समाधानको निमित्त योग्य व्यक्ति बनाउन तालिम आयोजना गरिएको देवदह नगरपालिकाका कार्यबाहक नगर प्रमुख विद्या लक्ष्मी गुरुङले बताउनुभयो । न्याय नपाएर पीडित भएका नागरिकलाई सहज रुपमा न्याय दिलाउनका लागि मेलमिलापकर्ताको भूमिका महत्वपुर्ण हुने का. नगर प्रमुख गुरुङको भनाई थियो।
कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष हरि प्रसाद पाण्डे, निमित्त प्रमुख प्रशासकीय अधिकृत लेखा अधिकृत निरज पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। ८ दिन सम्म संचालन हुने तालिमको सहजीकरण अधिबक्ता हेमा न्यौपाने र सिताराम अधिकारीले गर्नुभएको छ। तालिममा ३४ जना मेलमिलापकर्ता सहभागी छन् ।