बुटवल ।
तिनाउ खेलामा डुबेर एक जना भारतीय पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत कानपुरका ३५ वर्षीय फहीम अहमद रहेको प्रहरीले जनाएको छ । शनिबार मध्याह्न १२ बजेतिर दुई जना साथीसँगै पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सास्थित तिनाउ खोलामा पाैडीने क्रममा अहमद खोलामा डुबेका थिए ।
खोलामा डुबेर गम्भीर घाइते भएका अहमदलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगेपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको पाल्पा प्रहरीले जनाएको छ । गर्मी मौसम लाग्नासाथ सो क्षेत्रमा घुम्न आउने मानिसको डुबेर मृत्यु हुने गरेको छ । यो वर्षको वैशाख यता झुम्सा भुतखाेला र तिनाउ खाेलाकाे हेडबक्स नजिक ड्यामसाइड क्षेत्रमा डुबेर पाँच जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।