काठमाण्डौ ।
अन्तरिक्षबाट पृथ्वीको सबैभन्दा स्मरणीय फोटो खिचेका बिल एन्डर्सको विमान दुर्घटनामा ज्यान गएको छ । अमेरिकाको वासिङटनमा पर्ने तटीय क्षेत्रमा सानो विमान दुर्घटना हुँदा एन्डर्सको ज्यान गएको बीबीसीले जनाएको छ । ९० वर्षका एन्डर्सले नै उडाइरहनुभएको विमानमा उहाँ एक्लै रहनुभएको स्थानीय प्रहरीले जनाएको छ ।
अपोलो ८ अन्तरिक्ष यात्राका क्रममा एन्डर्सलेले खिच्नुभएको अर्थराइज अर्थात् पृथ्वी उदाउँदै गरेको फोटोलाई अहिलेसम्मकै स्मरणीय र उदाहरणीय फोटो मानिन्छ । सन् १९६८ को अपोलो ८ मिसन अन्तरिक्षयात्रीसहित पृथ्वी छाड्ने र चन्द्रमाको कक्षमा पुग्ने पहिलो उडान थियो ।
पृथ्वी उदाउँदै गरेको फोटोमा हाम्रो ग्रह बलौटे चन्द्र सतहको क्षितिजबाट उदाउँदै गरिएको देखिन्छ । त्यही फोटोले विश्वव्यापी वातावरण आन्दोलनका लागि उत्प्रेरकको रूपमा काम गरेको र पृथ्वी दिवस शुरु गर्न प्रेरित गरेको मानिन्छ ।
पृथ्वी दिवस वार्षिक रूपमा पृथ्वीको रेखदेखको लागि सचेतना र अभियान प्रवर्द्धन गर्ने उद्देश्यका साथ मनाइन्छ । चन्द्रमामा सन् १९६९ जुलाई २० तारिखमा पहिलो सफल अबतरण गरेको अपोलो ११ मिशनमा समेत उहाँ ब्याकअप पाइलटका रूपमा रहनुभएको थियो। -एजेन्सी