काठमाण्डौ ।
उत्तर कोरियाले दक्षिण कोरियामा फेरि सयौँ झोला फोहोर पठाएको छ । दक्षिण कोरियाले उत्तरी सीमामा के–पप र के ड्रामाका यूएसबी स्टिक बोकेका झोलाहरू पठाएपछि सोको प्रतिकारमा उत्तरले पनि बेलुनमार्फत फोहोर पठाएको हो ।
शनिबार रातियता फोहोरको झोला बोकेका ३३० ओटा बेलुन सीमावर्ती क्षेत्रमा पठाइएको बताइएको छ । यी मध्ये ८० ओटा बेलुन आइतबार दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफ (जेसीएस)को परिसरमा खसेको थियो । ती झोलामा रद्दी कागज र प्लास्टिकहरू पाइएको थियो । घातक वस्तु भने नभएको जेसीएसले बताएको छ ।
मे २८ यता उत्तर कोरियाले १ हजार ६० ओटा बेलुन पठाएको सीएनएनको ट्यालीले देखाएको छ । नयाँ चरणमा बेलुनमा फोहोर पठाएपछि आइतबार दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्ले आकस्मिक बैठक बोलाएको थियो । गएको हप्ता उत्तर कोरियाले १५ टन फोहोर बोकेका ३ हजार ५०० बेलुन छिमेकमा पठाएको दाबी गरेको थियो । -एजेन्सी