काठमाण्डौ ।
भारतको तेलंगाना राज्यको हनुमाकोण्डा हनुमाकोंडा जिल्लामा एउटा अनौठो घटना भएको छ । रेड्डीपुरम प्रहरीलाई स्थानीयले तलाउमा पाँच घण्टादेखि मान्छे डुबेको अवस्थामा देखिएको भन्दै खबर गरे । घटनास्थलमा प्रहरी पुग्दा वास्तविकता भने निकै बेग्लै पाइएको हो ।
तलाउ किनारमा टाउको अड्याएर शरीर पानीमा डुबाएको अवस्थामा एक व्यक्ति हलचलविना सुतिरहेका थिए । प्रहरीले हात समात्नासाथ ती व्यक्ति उठे ।
नेल्लोर जिल्लाको कावली निवासी ती व्यक्तिको पहिचान भने खुलाइएको छैन । प्रहरी स्रोतका अनुसार उनी प्रचण्ड गर्मी छल्नका लागि बिहानैदेखि तलाउमा शरीरलाई डुबाएर सुतेका थिए ।
विगत १० दिनदेखि दैनिक १२ घण्टाका दरले ग्रेनाइटको खानीमा लगातार काम गरेको बताउने उनले शरीरलाई ठण्डा गराउन आफू यसरी तलाउमा आएर आराम गरेको बयान प्रहरीलाई दिएका छन् ।
लामो समय हलचल नगरी सुतेका कारण स्थानीयवासीले भने कोही डुबेर मरेको होला भनेर प्रहरीलाई खबर गरेका थिए । ती व्यक्ति मंगलबार बिहान स्थानीय समयानुसार ७ बजे तलाउमा पसेका थिए । मध्याह्न १२ बजेसम्म पनि उनी तलाउबाट ननिस्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । -एजेन्सी