देवदह । रुपन्देहीको देवदह नगरपालिकाले १२ वटै वडाका राष्ट्रिय परिचयपत्र प्राप्त गर्न छुट भएका नागरिकहरुको लागि शिविर सञ्चालन गरेको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक रहने सूचना अनुसार देवदह नगरपालिकाले जिल्ला प्रशासन कार्यालयको समन्वयमा दर्ता शिविर सञ्चालन गरेको नगरपालिकाले जनाएको छ।
राष्ट्रिय परिचय तथा पञ्जिकरण विभागको जेष्ठ ३० गतेको सूचना अनुसार पहिलो चरणमा रुपन्देही सहित २८ वटा जिल्लामा आगामी श्रावण १ गतेदेखि सामाजिक सुरक्षा भत्ता नविकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ। आजदेखि सुरु भएको शिविर आगामी असार १८ गतेसम्म सञ्चालन हुने र शिविर अवधिमा छुटेका जेष्ठ नागरिकको १९ र २० गते विवरण संकलन गरिनेछ।
देवदहको वडा नम्बर ४ देखि सुरु भएको शिविर ७ गते वडा नं ५, ८ गते वडा नं ६, ९ गते वडा नं ७ , ११ गते वडा नं ८, १२ गते वडा नं ९, १३ गते वडा नं १०, १४ गते वडा नं ११, १५ गते वडा नं १२, १६ गते वडा नं १ , १७ गते वडा नं २ र १८ गते वडा नं ३ मा संचालन हुनेछ।
बालबालिका, आफ्नो हेरचाह गर्न नसक्ने, अशक्त, असहाय वा ९० वर्ष माथीका जेष्ठ नागरिकको हकमा भने राष्ट्रिय परिचयपत्र नभएता पनि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न बाधा नपर्ने विभागले जनाएको छ।