काठमाण्डौ ।
रुपन्देहीको देवदह नगरपालिका वडा नं ७ मा बालमैत्री स्थानीय शासन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम देवदह नगरपालिका वडा नं ७ को आयोजना र मैत्री समाज नेपालको समन्वयमा जनप्रतिनिधि र सरोकारवालालाई बालमैत्री शासन कार्यान्वयनका लागि प्रतिबद्ध बनाउन अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।
बालमैत्री स्थानीय शासनको अवधारणा कार्यान्वयन रणनीति सम्बन्धि ज्ञान, सीप तथा क्षमता अभिबृद्धिको मार्फत घर परिवार, टोल बस्ती, वडा हुँदै पालिकालाई नै बालमैत्री बनाउन अभियानलाई सार्थकता दिने उद्धेश्य पूरा गर्न वडाका सम्बन्धित सरोकारवालाहरुको लागि अभिमुखिकरण गरिएको देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले बताउनुभयो ।
अभिमुखिकरण कार्यक्रममा बालमैत्री स्थानीय शासन अवधारणा, बालबालिका चार अधिकार- बाँच्न पाउने अधिकार, संरक्षण पाउने अधिकार, बिकास गर्न पाउने अधिकार, सहभागिताको अधिकार, सेवा प्रवाह सम्बन्धी लगाएत ५१ वटा सुचकहरु, विद्यालय तथा समुदाय तहमा बाल समूह गठन, पुर्नगठन, बालभेला तथा समुदाय बालबालिकामा आवाज सुनिने संस्थागत व्यवस्था, लगानी योजना, बजेट लगायत बिषयमा बालमैत्री स्थानीय शासन राष्ट्रिय सहजकर्ता शर्मिला पौडेलले सहजिकरण गर्नुभएको थियो ।
देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु, वडाभर रहेका विद्यालयका प्रधानाध्यापक, प्रतिनिधीहरु, महिला स्वयंसेविकाहरू, टोल सुधार संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, होटल व्यवसायीहरु, महिला समुह, बालक्लब सञ्जालका प्रतिनिधिहरु तथा अन्य सरोकारवालाहरु सहभागीता रहेको थियो ।