काठमाण्डौ ।
नयाँ चामलभन्दा पुरानो चामलको स्वाद मिठो हुन्छ भनेर मानिसहरूले भनेको हामी सुन्छौँ । तर १० वर्ष चामल खानु स्वास्थ्यको लागि ठिक हुन्छ त ? हालैमा थाइल्यान्डका वाणिज्य मन्त्री फमथाम वेचायायाईले सञ्चार माध्यमको सामुन्ने १० वर्ष पुरानो चामल खाएर देखाएका थिए । हालै थाई सरकारले १० वर्षदेखि भण्डारण गरेर राखेको १५ हजार टन चामल लिलाम विक्री गरेको थियो । ती चामल खान योग्य छन् भन्ने साबित गर्न उनले त्यसरी पुरानो चामल खाएका हुन् ।
सन् २०११ मा तत्कालीन थाई प्रधानमन्त्री यंग लिक शिनावात्राले एउटा विवादित योजना लागू गरेकी थिइन्। यसअन्तर्गत बजारभन्दा बढी दरमा सरकारले किसानसँग ५ करोड ४० लाख टन भन्दा धेरै चामल किनेको थियो । यो योजनाले सरकारलाई ठुलै घाटा लाग्यो ।
किसानसँग बढी मूल्यमा किनेको चामल अरूलाई धेरैमा बेच्न नसकेपछि सरकारी गोदाममा चामलको थुप्रो बस्यो। गएको महिना थाइल्यान्डको वाणिज्य मन्त्रीले ती चामल बेच्न निगरानीका लागि एउटा समिति बनाउने घोषणा गरेका थिए । १७ जुनमा वी एट इन्टरट्रेडिंग नामक थाई कम्पनीले २८ करोड ६० लाख भाट बोली लगाएर लिलामीमा चामल पनि किन्यो । तर यसैबिच १० वर्ष पुरानो चामल खान योग्य छ कि छैन भन्ने बहस सुरु भएको छ । शिनावात्राले ल्याएको चामल योजनामा सरकारलाई करिब १५ अर्ब डलर घाटा भएको अनुमान गरिएको छ ।
कस्तो छ चामलको गुणस्तर ?
चामललाई ठुल्ठुला गोदाममा चामल भण्डारण गरेर राखिएको थियो । थाइल्यान्डका वाणिज्य मन्त्रीले उक्त भण्डारबाट लिएको चामलको गुणस्तर प्रमाणित गर्ने प्रयासमा मिडियाको अगाडि सो चामलको भात खाए । चामलको दाना झनै सुन्दर देखिएको वाणिज्य मन्त्री फमथाम वेचायाचाईले बताएका थिए । ‘यसको रङ्ग अलि बढी पहेँलो देखिएको छ । १० वर्ष पुरानो चामल यस्तो देखिन्छ ।’ उनले भने । उनले सञ्चार गृहमा प्रतिनिधिहरूलाई चुनौती दिँदै जुनसुकै चामलको बोरामा प्वाल बनाएर चामलको गुणस्तर जाँच्न सक्ने बताएका थिए ।
वाणिज्य मन्त्रीले स्वास्थ्य मन्त्रालयको प्रयोगशालामा ती चामलको परीक्षण गराएका थिए । सो परीक्षणको नतिजा सञ्चारकर्मीहरूलाई पनि दिइएको थियो । जाँचका क्रममा चामलमा विषाक्त रसायन नभेटिएको उनको भनाइ थियो । प्रयोगशालाका अनुसार त्यो पुरानो चामलको पोषण मूल्य अहिले बजारमा पाइने चामलभन्दा फरक थिएन । च्यानल ३ नामक स्थानीय टेलिभिजन नेटवर्कले स्वतन्त्र प्रयोगशालाबाट चामलको अर्को परीक्षण गराएको थियो । सोको नतिजामा पनि उक्त चामल खानका लागि सुरक्षित रहेको देखिएको थियो ।
चामल पनि बिग्रिन्छ ?
संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ)का अनुसार चामललाई सुख्खा र चिसो ठाउँमा हावा बन्द गर्ने भाँडोमा राखेर लामो समयसम्म भण्डारण गर्न सकिन्छ । अमेरिकाको धान महासङ्घले पनि चामललाई राम्ररी भण्डारण गरेमा ‘लगभग अनिश्चितकाका लागि’ प्रयोगयोग्य हुने बताएको छ ।
पौष्टिकता र स्वादमा असर
एक दशकसम्म कीटनाशकको प्रयोगले धान विषाक्त हुन सक्छ कि भनेर बीबीसीले एफएओलाई सोधेको थियो । औषधि प्रयोग गर्दा सबै सावधानी अपनाएमा धानमा असर नगर्ने एफएओको भनाइ थियो । १० वर्षसम्म भण्डारण गरेर राख्दा चामलको पौष्टिकतामा कमी आउँछ कि ? भनेर सोधिएको प्रश्नको जवाफमा चामलमा थोरै मात्रामा पाइने सूक्ष्म पोषक तत्त्वको कमी भएपनि समग्र धानको पौष्टिकतामा खासै फरक नपर्ने एफएओले बताएको थियो ।
चामल खाँदा सबैभन्दा बढी पौष्टिक फाइदा यसमा रहेको स्टार्चको उच्च गुणस्तरबाट पाइन्छ । मानव शरीरले यसलाई ऊर्जामा परिणत गर्छ । सामान्यतया: समयसँगै चामलको स्वाद गुम्छ भन्ने कुरा यसको भण्डारण कसरी गरिएको छ भन्नेमा निर्भर हुने एफएओले बताएको छ । थाई टिभी एन्कर सुरायोत सोथासनचन्दले पनि १० वर्ष पुरानो स्टकबाट चमेली जातको चामल चाखेका थिए । यो चामल पनि सामान्य सेतो चामल जस्तै स्वादिलो भएपनि चमेली चामल जस्तो चिपचिप, नरम र वासनादार नभएको उनको भनाइ थियो ।
अब यी चामल के गरिन्छ ?
थाई राइस एक्सपोर्टर्स एसोसिएसनका अनुसार गत वर्ष थाई चामलको सबैभन्दा ठुलो खरिदकर्ता इन्डोनेसिया र दक्षिण अफ्रिका थिए । पुराना चामल प्रायः गरिब देशहरूमा खपत हुने बीबीसीसँग कुरा गर्दै थाइल्यान्डमा चामल मिल चलाउने तोता वाङ्दीले बताएका थिए । दक्षिण अफ्रिका बाहेक, थाइल्यान्डले अन्य धेरै अफ्रिकी देशहरूमा पनि चामल बेच्ने गर्दछ । थाइल्यान्डका वाणिज्य मन्त्री फामथम भेचायाचाइले पनि अफ्रिकी मुलुकमा थाइ चामलको माग रहेको बताएका छन् ।
थाई सरकारले चामलको लिलाम विक्रीको घोषणा गरेपछि अफ्रिकाका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ती चामलप्रति आशङ्का जताइरहेका छन् । अफ्रिकालाई डम्पिङ ग्राउन्डको रूपमा प्रयोग गरिएको केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको भनाइ थियो । उता, केन्या सरकारले मापदण्ड पूरा गर्ने र प्रयोगशालामा परीक्षण गरिसकेका चामल मात्रै आयात गर्न दिने घोषणा गरेको छ । लिलामी विजेता कम्पनी ‘भी८ इन्टरट्रेडिङ’लाई चामल खरिदका लागि सम्झौता सम्झौता गर्न ३० दिनको समय दिएको छ ।
एजेन्सीको सहयोगमा