काठमाडौं ।
पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ४४ वटा विपद्जन्य घटना घटेका छन् । घटनामा हालसम्म १४ जनाको मृत्यु भएको र दुई जना अझै बेपत्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
घटनामा १० जना घाइते भएको र १९ लाखभन्दा बढी आर्थिक क्षति भएको प्राधिकरणको भनाई छ । प्राधिकरणका अनुसार पहिरोबाट आठ जनाको मृत्यु भएको र पाँच जना घाइते भएको छन । यस्तै चट्याङबाट पाँच जनाको मृत्यु र तीन जना घाइते भएका छन् । बाढीबाट एक जनाको मृत्यु, दुई जना बेपत्ता र एक जना घाइते भएका छन् ।
विपद्ले ओखलढुङ्गा, संखुवासभा, सुनसरी, उदयपुर, इलाम, धनकुटा, लमजुङ, कास्की, मोरङ, झापा, रोल्पा, दैलेख र बागलुङ बढी प्रभावित भएको छ ।