काठमाडौँ ।
युरोकप फुटबलका तेस्रो क्वार्टरफाइनल खेल शनिबार राति खेलिँदै छ । उक्त खेलमा साबिक उप–विजेता इङ्गल्यान्डले स्विट्जरल्यान्डको सामना गर्नेछ । खेल नेपाली समय अनुसार, राति २१ः४५ बजे सुरु हुनेछ । इङ्गल्यान्ड समूह ‘सी’ को विजेता बन्दै प्रतियोगिताको नकआउट चरणमा पुगेको थियो । युरोकपको जारी संस्करणमा इङ्गल्यान्ड हालसम्म अपराजित छ । इङ्गल्यान्डले समूहगत चरणको तीनमध्ये एक खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको थियो ।
इङ्गल्यान्डले आफ्नो पहिलो खेलमा सर्बियालाई १–० गोलले हराएको थियो । दोस्रो खेलमा इङ्गल्यान्डको टोली डेनमार्कसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । तेस्रो खेलमा पनि इङ्गल्यान्डको टोली स्लोभेनियासँग गोलरहित बराबरीमा रोकिएको थियो । स्विट्जरल्यान्ड भने समूहगत चरणमा उप–विजेता बन्दै प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको हो । जारी युरोकपमा स्विट्जरल्यान्ड पनि हालसम्म अपराजित छ । समूह ‘ए’ मा रहेको स्विट्जरल्यान्डले पनि एक खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको थियो ।
स्विट्जरल्यान्डले आफ्नो पहिलो खेलमा हंगेरीलाई ३–१ गोलले हराएको थियो । आफ्नो दोस्रो खेलमा भने स्विट्जरल्यान्डको टोली स्कटल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । स्विट्जरल्यान्डको टोली तेस्रो खेलमा आयोजक जर्मनीसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । प्रतियोगिताको प्रि–क्वार्टरफाइनलमा भने स्विट्जरल्यान्डले साबिक विजेता इटालीलाई २–० गोलले हराएको थियो । जारी संस्करणमा पनि इटालीलाई उपाधिको बलियो दाबेदारका रुपमा हेरिएको थियो । तर, त्यही इटालीलाई हराएर स्विट्जरल्यान्डले आगामी प्रतिद्वन्द्वीहरुलाई आफूसँग सचेत रहन गतिलो चेतावनी दिएको छ ।
-एजेन्सी