काठमाण्डौ ।
उडानका क्रममा एयरहोस्टेसले दिएका कुनै पनि खानेकुरा खान नमानेका एक यात्रु फन्दामा परेका छन् । ती यात्रुलाई विमान अवतरण हुनासाथ विमानस्थलबाट नियन्त्रणमा लिइएको हो । जेद्दाबाट नयाँदिल्लीसम्म करिब साढे पाँच घण्टासम्म एयर इन्डियाको उडानका क्रममा ती यात्रुलाई एयरहोस्टेसले पटकपटक पानीदेखि खानासम्म ‘अफर’ गरेकी थिइन् । ती यात्रुले केही पनि खान अस्वीकार गरे ।
त्यसपछि एयरहोस्टेसले विमानका क्याप्टेनलाई ती यात्रुको बारेमा जानकारी गराइन् । सोही अनुसार विमानका क्याप्टेनले ‘एयर ट्राफिक कन्ट्रोल’ (एटीसी)मार्फत सुरक्षा निकायलाई यसबारे जानकारी गराए । भारतीय सञ्चारमाध्यमका अनुसार विमानका क्याप्टेनले दिएको सूचनाका आधारमा दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ सुरक्षाकर्मीले ती यात्रुको निगरानी गरे । उनी विमानस्थलको सुरक्षा जाँच पार गर्नै लाग्दा पक्राउ परेका हुन् ।
केही पनि खान नमानेकै कारण एयरहोस्टेसलाई शङ्का लागेपछि क्याप्टेनलाई ती यात्रुको गतिविधिबारे जानकारी गराएको बताइन्छ । लामो दुरीमा यात्रीले केही खान नमानेको खण्डमा उसले मलाशयमा केही लुकाएको छ भन्ने आशङ्का बलियो हुन्छ ।
विमानस्थलमा सुरक्षा निकायले उनको मलाशयबाट एक हजार ९६ दशमलव ७६ ग्राम सुन बरामद गरेको छ । उक्त परिमाणको सुन सुन उनले चार वटा क्याप्सुल बनाएर मलाशयमा लुकाएका थिए । -एजेन्सी