काठमाण्डौ ।
चितवनको सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बसका २ जना यात्रुको शव भारतमा फेला परेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले फेला पारेको दुई वटा शव नेपाल ल्याइएको जनाइएको छ ।
सशस्त्र प्रहरीका अनुसार बिहिबार राति करिब साढे ९ बजेको समयमा भारतको चम्पारण नगाहास्थित नारायणी नदीमा २ वटा शव फेला परेको थियो । उक्त शव आज नेपाल ल्याइएको हो । शवको सनाखत भने हुन सकेको छैन ।
योसँगै हालसम्म २३ जना यात्रुको शव फेला परेको छ । गत २८ असार बिहान चितवनको सिमलतालमा लेदोसहितको पहिरोले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको दुईवटा बसलाई त्रिशूलीमा खसालेको थियो ।