काठमाण्डौ ।
काठमाडौं । भारतको उत्तर प्रदेशस्थित फतेहपूरमा एकजना व्यक्तिलाई एउटै सर्पले ७ पटक डसेको छ । स्थानीय विकास दुबे नामक व्यक्तिले आफूलाई एउटा सर्पले ४० दिनभित्रमा ७ पटक डसेको दाबी गरेका छन् ।
उनको अस्पतालमा उपचार भइरहेको छ । र, यो घटनाले एउटा प्रश्न उब्जाएको छ कि के कुनै मानिसलाई एउटै सर्पले खोजी खोजी पटक पटक डस्न सम्भव छ ? के सर्पमा यतिधेरै स्मरण शक्ति हुन्छ कि उसले कुनै व्यक्तिलाई सम्झीसम्झी डसोस्? स्थानीय सौरा गाउँका बासिन्दा विकास खेतबारीमा काम गर्दछन्। त्यस ठाउँमा उर्बर जमीन हुनुका साथै आसपासमा जंगल पनि रहेको छ । जसका कारण त्यहाँ मुसा जस्ता जीवहरु धेरै हुनाले सर्पको संख्या पनि धेरै पाइने गरको छ।
विकासलाई उनको घरमै सर्पले ४ पटक डस्यो । तर त्यसबेला उनलाई केह भएन र औषधिले निको भयो । जब उनलाई पाँचौ पटक सर्पले डस्यो, त्यतिबेला उनी आफ्नो घरभन्दा १२/१४ किलोमिटर टाढा रहेको आफन्तको घरमा थिए। सर्प विज्ञका अनुसार सर्पले कसैलाई डस्नकै लागि यतिलामो यात्रा गर्न सक्दैन। साथै सर्पमा यस्तो कुनै स्मरण शक्ति पनि हुँदैन कि कुन मानिसलाई उसले डस्नु छ ।
विकासको बायाँ हात तथा खुट्टामा सर्पले डसेको चिनो छन् । दुबैमा सर्पको दाँतका डाम छन् र चारैतर्फ निलो घेरा बनेको छ।
तर पछिल्लोपटक उनलाई विषालु सर्पले डसेछ। यदि विष नभएको सर्पले डसेको भए धेरै दाँतको अर्ध अण्डाकार डाम बन्दथ्यो । विषालु सर्प २ किलोमिटर भन्दा लामो यात्रा नगर्ने विज्ञको भनाई छ।
त्यसैले आफूलाई एउटै सर्पले ७ पटक सम्म खोजी खोजी डसेको भन्ने विकासको दाबी गलत र अन्धविश्वासपूर्ण रहेको भोपालका सर्प संरक्षणकर्मी मोहम्मद सलीम बताउँछन् ।
– एजेन्सीको सहयोगमा