बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामाको घोषणा गरेका छन् । विश्वासको मतका लागि डाकिएको बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् । अल्पमतमा रहेका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत लिनका लागि यो बैठक आह्वान गरिएपनि उनी त्यो प्रक्रियामा गएनन् ।
महराले राजीनामा दिए पछी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लीला गिरी बन्ने भएका छन्। उनी दोस्रो पटक मुख्यमन्त्री बन्ने भएका हुन् ।
यस अघि ०७९ पुस २७ मा मुख्यमन्त्री बनेका गिरी तत्कालीन गठबन्धन गरेको माओवादीसहितका अन्य दल नयाँ गठबन्धनमा गएपछि साढे ३ महिनामै बाहिरिएका थिए । अहिले उहीँ माओवादी नेतृत्वलाई विस्थापित गर्दै कांग्रेसको साथमा गिरी मुख्यमन्त्री बन्न लागेका हुन् ।केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण लुम्बिनी प्रदेश सरकारको नेतृत्व फेरिन लागेको हो। लुम्बिनीमा एमाले संसदीय दलका नेता गिरी मुख्यमन्त्री बन्ने भएका हुन्।
कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिलसिनाले एमाले दलका नेता गिरीको नेतृत्वमा नयाँ सरकार बनाउने गरी तयारी भइरहेको र आजै दुवै दलका नेता तथा प्रमुख सचेतक बसेर छलफल गरिएको जनाए । दुवै दलको तर्फबाट मुख्यमन्त्रीमा गिरीलाई नियुक्तिको लागि प्रदेश प्रमुखसमक्ष आज नै दाबी पेश गर्ने तयारी गरिएको छ।