काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले डेंगी रोग नियन्त्रण तथा रोकथामका लागि सरकारले खोप आयात गर्ने बताउनुभएको छ ।
आज मंगलबार प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका सांसद प्रतिमा गौतमले पेश गर्नुभएको डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले सो प्रतिवद्धता व्यक्त गर्दै जापानले सो रोग नियन्त्रणका लागि खोपको व्यवस्था गरेकाले त्यसलाई नेपालमा पनि भित्र्याउनका लागि मन्त्रालयले काम गर्ने बताउनुभएको हो ।
उहाँले सरकारले सो रोग नियन्त्रणका लागि विशेष सावधानी अपनाउने पनि बताउनुभयो । मन्त्री पौडेलले सो रोगको नियन्त्रण तथा रोकथामको कामलाई प्रभावकारी बनाउन देशभर रहेका ५३ हजार महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई परिचालन गर्ने योजना पनि सार्वजनिक गर्नुभयो ।