देवदह । रुपन्देहीको देवदहमा वडा स्तरीय लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । देवदह क्रिकेट युनिटको आयोजनामा भएको प्रतियोगिताको देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खरेलले स्थानीय स्तरमा यस्ता क्रिकेट प्रतियोगिता आयोजना गरिनुपर्ने बताउनुभयो । पछिल्लो समय नेपालले क्रिकेटमा राम्रो प्रगति गरिरहेकोले यस्ता प्रतियोगिताबाट थप राम्रा खेलाडी उत्पादनमा सहज हुने बताउनुभयो ।
आज भएको पहिलो खेलमा देवदह ३ लाई ३ विकेटले पराजित गर्दै देवदह ५ ले विजयी सुरुवात गरेको छ । देवदह मा.विको खेल मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको देवदह ३ ले १६ ओभरमा सबै विकेट गुमाउँदै ६६ रन बनायो । जसमा, लक्ष्मण घिमिरेले १८ र शौरव क्षेत्रीले १२ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । त्यसै बलिङ तर्फ देवदह ५ का मनिष भण्डारीले ४ विकेट, सुमन गुरुङ र राजु बिकले २-२ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको देवदह ५ ले ११ ओभर ७ विकेट गुमाउँदै सहजै विजयी लक्ष्य पूरा गर्यो । टिमका लागि विवेक कार्कीले २१ रन, सुनिल रानाले २० रन बनाए । बलिङ तर्फ देवदह ३ का सन्दिप , शौरव र नविनले २-२ विकेट लिए । खेलमा देवदह ५ का मनिष भण्डारी म्यान अफ द म्याच घोषित भएका थिए । उनलाई देवदह क्रिकेट युनिटका पुर्व अध्यक्ष रबि बल्लभ रग्मीले म्यान मफ दि म्याचको ट्रफी र फुड भौचर हस्तान्तरण गर्नु भएको थियो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेता हुने टिमले नगद १५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । साथै विधागत पुरस्कार पनि रहेको आयोजकले जनाएको छ ।