रुपन्देही । रुपन्देहीको देवदहमा पूर्वी क्षेत्र निजी विद्यालय परिवार (ईप्सा) देवदहको आयोजनामा छात्रछात्रा भलिबल प्रतियोगिता सुरु भएको छ । विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्दै खेलको माध्यमबाट स्वस्थ नागरिक उत्पादन गर्नुको साथै उत्कृष्ट खेलाडी उत्पादनमा जोड दिनको लागि खेलको आयोजना गरिएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य माननीय छबिलाल विश्वकर्माले भलिबाल राष्ट्रिय खेलको रुपमा स्थापित र सबै ठाउँमा खेलिने भएकाले पनि लोकप्रिय बनिरहेको छ । उहाले नयाँ खेलाडी उत्पादनमा प्रतियोगिताको महत्त्वपूर्ण योगदान हुने विश्वास प्रकट गर्नुभयो । साथै प्रतियोगिताको माध्यमबाट विद्यार्थीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्न र अनुभव आदानप्रदान गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कुरा व्यक्त गर्नुभयो ।
प्रतियोगितामा संगठनमा आवद्ध १२ वटा मा.वि. तहमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको छ ।प्रतियोगितमा प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः नगद पच्चिस हजार, पन्ध्रहजार र पाँच पाँच हजार, शिल्ड मेडल तथा प्रमाणपत्र प्रदान गरिने खेल संयोजक तथा कोषाध्यक्ष कृष्णप्रसाद गैरेले जानकारी दिनुभयो । उक्त खेलमा उत्कृष्ट खेलाडी, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर,उत्कृष्ट स्पाइकर,उत्कृष्ट सर्भर र उत्कृष्ट कोचलाई समेत पुरस्कृत गरिने जनाइएको छ ।
कार्यक्रम इप्सा देवदहका अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षता, कोषाध्यक्ष कृष्ण गैरेको स्वागत र सचिब बिनोद थापा मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतियोगिताको उद्घाटन खेल, छात्र तर्फको पहिलो खेल सगरमाथा मा.वि र न्यू नमुना ई.बो स्कुल बिच भएको थियो। जसमा सगरमाथा मा.विले २-० को सोझो सेटमा जित हासिल गर्यो । त्यस्तै छात्रा तर्फको पहिलो खेलमा मदरल्याण्ड र कोलिय बिच भएको खेलमा मदरल्याण्ड एकेडेमीले जित हासिल गरेको थियो ।