देवदह। स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन तर्फ देवदह नगरपालिकाले अहिले सम्मकै अधिकतम अङ्क ९५.२५ अङ्क प्राप्त गरेको छ । रूपन्देही जिल्लामा सबैभन्दा अधिकतम अङ्क ९७ अङ्क सहित तिलोत्तमा प्रथम स्थानमा, ९६ अङ्क सहित बुटवल उपमहानगरपालिका दोस्रो र ९५.२५ अङ्क सहित देवदह नगरपालिका तेस्रो स्थानमा रहेको छ ।
देवदह नगरपालिकाले २०७६/०७७ मा ४०.५० अङ्क २०७७/०७८ मा ५५.५ अङ्क ०७८/०७९ मा ६२.२५ अङ्क ०७९/०८० मा ७४.५ अङ्क र २०८०/०८१ मा ९५.२५ अङ्क प्राप्त गरेको छ । शासकीय प्रबन्ध १००%, सङ्गठन तथा प्रशासन १००%, वार्षिक बजेट तथा योजना व्यवस्थापन १००%, वित्तीय एवम् आर्थिक व्यवस्थापन ९३.१८%, सेवा प्रवाह ९६.८८%, न्यायिक कार्य सम्पादन १००%, भौतिक पूर्वाधार ८८.४६%, सामाजिक समावेशीकरण ८५%, वातावरण संरक्षण तथा विपद व्यवस्थापन ९४.४४%, सहकार्य र समन्वय १००% शीर्षकमा अङ्क प्राप्त गरेको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा देवदह नगरपालिका यस वर्ष जिल्लामा दोस्रो स्थानमा रहेको छ। जिल्लाका १६ वटा स्थानीय तहमध्ये सैनामैना नगरपालिका ६४ दशमलव ५ अङ्क प्राप्त गरी जिल्लामा उत्कृष्ट रहेको छ भने देवदह नगरपालिकाले ६३ दशमलव ४ अङ्क प्राप्त गरी दोस्रो स्थानमा रहेको छ। आयोगले १७ वटा सूचक मध्ये १४ वटा सूचकमा मात्र स्थानीय तहको मूल्याङ्कन गरेको जनाएको छ। रूपन्देहीमा ५ वटा नगरपालिका, १० वटा गाउँपालिका र १ वटा उपमहानगरपालिका गरी १६ ओटा स्थानीय तह रहेका छन् । कार्यसम्पादन मूल्याङ्कनको सूचकका आधारमा स्थानीय तहमा वित्तिय समानीकरण अनुदानको अङ्क निर्धारण हुने गर्दछ ।प्रदेश तथा स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कन कार्यविधि, २०७८ को दफा ७ को अधीनमा रही प्रदेश र स्थानीय तहका लागि निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्याङ्कन गरी अङ्क प्रदान गरिएको आयोगको सूचनामा उल्लेख छ।
त्यसैगरी, स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा देवदह नगरपालिकाले ८४ अङ्क प्राप्त गरेको छ । योजना बजेट तथा कार्यक्रम व्यवस्थापन मा १०० प्रतिशत अङ्क कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा ७९.३१ प्रतिशत अङ्क लेखाङ्कन तथा प्रतिवेदनमा ८८.२४ प्रतिशत अङ्क अनुगमन मूल्यनङ्कन तथा लेखापरीक्षण मा ६८.७५ प्रतिशत अङ्क राजश्व व्यवस्थापन तर्फ ८२.३५ प्रतिशत अङ्क प्राप्त गरेको हो । जिल्ला समन्वय समितिले मूल्याङ्कन गरि उक्त अङ्क प्रदान गरेको हो । विगत आ.व मा भन्दा यस वर्ष उल्लेख्य प्रगति भएको छ । आ.व २०७८/०७९ मा ५०.५ अंक आ.व २०७९/०८० मा ६३.५ र आ.व २०८०/०८१ मा ८४ अङ्क प्राप्त गर्न सफल भएको छ ।
देवदह नगरपालिका लाई उत्कृष्ठ नगरपालिकाको रुपमा अगाडि बढाउन बिभिन्न क्षेत्रबाट निर्धारण गरिएका सूचक मुल्य मान्यता र दिगो विकासका लक्ष्यलाई स्थानीयकरण गरी आगामी दिनमा योजना बद्ध रुपमा आफ्ना क्रियाकलापहरूलाई अगाडि बढाउनु देवदह नगरपालिकाको मुख्य लक्ष्य हुनु पर्दछ । देवदहको सर्वाङ्गीण विकासका लागि सरोकारवालाहरुसंग निरन्तर सहकार्य, सम्वाद, सहयोजना र सह अस्थित्वले मात्र स्थानीय सरकार सफल हुने देखिन्छ। देवदह नगरपालिकाले प्राप्त गरेका अङ्कका आधारमा नगरपालिकाको योजनावद्ध कार्य झल्केको देखिन्छ। आगामी दिनमा नगरपालिकालाई थप परिस्कृत गर्दै हालको नतिजालाई अझ उत्कृष्ट बनाउदै नागरिकका आवश्यक्ता र सरोकारको विषयमा आफ्ना गतिविधिहरु केन्द्रित गर्न आवश्यक देखिन्छ।