spot_img
spot_img
spot_img

देवदहमा श्रीमद्भागवत तथा मङ्गलपुष्करिणी दह धार्मिक महोत्सव २०८१ हुदै

spot_img

देवदह । रुपन्देहीको देवदहमा श्रीमद्भागवत महापुराण तथा मङ्गलपुष्करिणी दह धार्मिक महोत्सव–२०८१ आयोजना हुने भएको छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेको देवदह–९, को मङ्गलपुष्करिणी दहमा श्रीमद्भागवत महापुराण तथा मङ्गलपुष्करिणी दह धार्मिक महोत्सव हुन लागेको हो ।देवदह नगरपालिका ९ नं वडा कार्यालयको आयोजनामा चैत्र २१ देखि २८ गतेसम्म धार्मिक महोत्सव हुने मंगलबार देवदहमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

धार्मिक एवम् एतिहासिक देव दहको संरक्षण, छाडा चौपाया व्यवस्थापन तथा सन्दिप आधारभूत विद्यालय व्यवस्थापनको लागि महोत्सव आयोजना गरिएको महोत्सव मूल आयोजक समिति संयोजक एवं देवदह नगरपालिका–९ का वडाध्यक्ष मोहन बहादुर जिसीले बताउनुभयो। प्राचीन समयमा राजा तथा ऋषि–तपस्वीहरूले स्नान गर्ने पवित्र स्थल देवदह दह भएकाले यसको संरक्षण र प्रचारप्रसार आवश्यक रहेको जिसीले जानकारी दिनु भयो । उहाले महोत्सवमा  एक लाख भक्तजनले महोत्सवमा आउने र एक करोड संकलन गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाले महोत्सवबाट संकलन गरिएको रकमबाट देवदह दहको संरक्षण, देवदह–९, मा रहेलल गौशालालाई व्यवस्थित गर्ने र सन्दिप आधारभूत विद्यालयको स्तरउन्नती गर्ने जानकारी दिनु भयो ।

पत्रकार सम्मेलनमा देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिरा बहादुर खत्रीले देवदह दह यस क्षेत्रकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य भएको उल्लेख गर्नु भयो । उहाँले स्थानीय तहले यसको प्रवर्द्धन र विकासमा निरन्तर योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै पुरातत्व विभागले उत्खनन र प्रमाणीकरण प्रक्रियामा ढिलाइ गर्न नहुने धारणा व्यक्त गर्नुभयो। उहाँले देवदहका विभिन्न स्थानहरूमा उत्खनन सम्पन्न भइसकेको भए पनि प्रमाणित गर्ने प्रक्रिया अझै बाँकी रहेको र उत्खननकै क्रममा खयरडाँडामा एक प्राचीन इनार (कुवा) फेला परेको जानकारी पनि दिनुभयो।

महोत्सव अवधिभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछ। चैत्र २१ गते बौद्ध गुरुहरूले दह शुद्धीकरण पूजा सुरु गर्नेछन् भने चैत्र २२ गते शोभा कलश यात्रापछि महोत्सवको औपचारिक उद्घाटन गरिनेछ। महोत्सवभरि प्रत्येक दिन पूजा–अर्चना, पाठ, कथा प्रवचन, राष्ट्रिय कलाकारहरूको भजन तथा झाँकी प्रदर्शन हुनेछ। साथै, कथावाचक पं. चन्द्रकान्त काफ्लेले संगीतमय श्रीमद्भागवत कथा वाचन गर्ने आयोजकले जनाएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img