बुटवल ।। नेपाल बाल संगठन रुपन्देहीको सभापतिमा मेगदेव पन्त चयन भएका छन् । शनिबार भएको जिल्ला भेलाले पन्तको नेतृत्वमा ७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
नेपाल बाल संगठनको विधान अनुसार जिल्ला सभाबाट एक जना सभापति र सात जना सदस्यहरु निर्वाचित गर्ने नियमानुसार शनिबार भएको अधिवेशनबाट सभापतिमा मेघदेव पन्त, सदस्यहरुमा कल्पना पाडे मगर, सुरज भट्टराई, सुनिल खनाल, हिमा बेलबासे, थानेश्वर पाण्डे, शालिकराम पाण्डे र हरि प्रसाद खनाल सर्वसम्मत निर्वाचित भएको निर्वाचिन मण्डलका संयोजक मेघनाथ खनालले बताउनुभयो।
निर्वाचित कार्य समतिको बैठकबाट उपाध्यक्ष सचिव र कोषाध्यक्ष निर्वाचित गरिने र दुई जना सदस्य मनोनित समेत गरिनेछ । यसरी दश सदस्य जिल्ला कार्य समिति बन्ने र एक जना सदस्य केन्द्रबाट मनोनित गर्ने प्रावधान रहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बाल संगठन केन्द्रीय समिति अध्यक्ष तथा प्रमुख अतिथि विद्या उपाध्याय न्यौपानेले बासंगठनको सक्रियताले बालबालिकाको अधिकार र संरक्षणमा राज्यलाई समेत सचेत र उत्तरदायी बनाउन सहयोग पुगेको उल्लेख गर्नुभयो। उहाँले बालबालिकाको अवस्था सुधार्न तथा हितका लागि राज्य, समाज र सम्बन्धित सबै निकाय एकैसाथ अघि बढ्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले नवगठित जिल्ला समितिलाई सफल कार्यकालको शुभकामना दिँदै अध्यक्ष न्यौपानेले नयाँ नेतृत्वले बाल अधिकार संरक्षण, सशक्तिकरण र सहभागितामूलक अभियानलाई अझ प्रभावकारी ढंगले अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।
सोही अवसरमा बुटवल उपमहानगरपालिकाको उपप्रमुख सावित्रा देवी अर्यालले बालबालिका संग उप प्रमुख कार्यक्रमलाई नीति स्तरमै पास गरी कार्यान्वयनमा ल्याइरहेको बताउनुभयो । उहाले बालबालिका नै भोलीका कर्णधार भएकाले उनीहरूको शिक्षामा विशेष प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभएको थियो । साथै कोही बालबालिका भोको पेट लिएर बस्न नपरोस्, शिक्षा बाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आवश्यक सहयोग गर्दै पढ्ने अनुकूल वातावरण सिर्जना गरिरहेको समेत बताउनुभयो ।
सोही अवसरमा बोल्दै सभापति मेघदेव पन्तले आफ्नो कार्यकालमा बालबालीकाको क्षेत्रमा नयाँ अठोटका साथ बालबालीकाहरुलाई हित हुने खालका नयाँ नयाँ काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो।
कार्यक्रममा नेपाल स्काउट लुम्बिनी प्रदेशका प्रमुख आयुक्त दिनानाथ भट्टराई, नेपाल बाल संगठनका केन्द्रिय सदस्य, लुम्बिनी प्रदेश संयोजक तथा निवर्तमान अध्यक्ष साजन भण्डारी, केन्द्रिय सदस्य गोपाल मणि ज्ञवाली, नेपाल निजामती कर्मचारी संगठनको केन्द्रिय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सह ईन्चार्ज नारायण प्रसाद भण्डारी लगाएतले बोल्दै बालबालिकाको अविभावकत्व ग्रहण गर्न सक्ने खालको निर्माण होस भन्ने शुभकामना दिनु भएको थियो।
तदर्थ समितिका सभापति मेगदेव पन्तको अध्यक्षतामा, सदस्य सुनिल खनालको स्वागत र सदस्य कल्पना पाडे मगरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।




