देवदह ।। रुपन्देहीको देवदह–७ मा अवस्थित ग्रीन प्लान्ट आवासीय मा.विमा स्काउट शान्ति तथा सुरक्षा कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले नेपाल रेडक्रस स्थापना दिवसको अवसर पारी विद्यालयका स्काउटर र रेडक्रसका विद्यार्थीहरुलाई उक्त कार्यक्रम गरेको हो ।
कार्यक्रममा स्काउट मास्टर सुरज भट्टराईले सहजीकरण गर्दै विद्यार्थीलाई शान्ति, सहकार्य र व्यक्तिगत सुरक्षासम्बन्धी विविध ज्ञान तथा अभ्यास गराउनुभएको थियो । स्काउट मास्टर प्रभा कार्की र खेल शिक्षक संकेत भट्टराईको विशेष उपस्थिति रहेको कार्यक्रममा करिब ५१ जना विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो ।
विद्यालयका प्रिन्सिपल राजीव सापकोटाले विद्यार्थीको व्यवहार, सोच र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो । उहाँले स्काउट कार्यक्रममार्फत बालबालिकाले व्यवहारिक सीप सिक्ने र सामूहिक भावनामा जोडिन पाउने अवसर मिल्ने भएकाले विद्यालयले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यसैगरि ग्रीनप्लान्ट रेडक्रस सर्कलका अध्यक्ष संजोग थापाले स्काउट र रेडक्रस दुवै मानवीय सेवा, सहयोग र अनुशासनमा जोड दिने भएकाले यस्ता कार्यक्रमले विद्यार्थीलाई साझा उद्देश्यमा अघि बढ्न प्रेरणा दिने बताउनुभयो। उहाँले स्काउटले व्यवहारिक सीप र नेतृत्व क्षमता सिकाउने र रेडक्रसले सहयोग र मानवता बढाउने भएकाले दुबैको संयोजनले विद्यार्थीको व्यक्तित्व विकासमा मद्दत गर्ने उल्लेख गर्नुभयो ।
जीवनशैलीमा शान्तिपूर्ण व्यवहार, आपसी सहयोग र सुरक्षा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा सहभागी विद्यार्थीहरूले समूहगत कार्य र छलफलबाट शान्ति तथा सुरक्षा सम्बन्धी महत्वपूर्ण अनुभव लिन पाएको बताएका थिए ।




