देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई एक विशेष कार्यक्रमबीच स्वागत गरेको छ। विद्यालयको कक्षा १२ को आयोजनामा भएको कार्यक्रममा विद्यार्थी निकेश काफ्लेको अध्यक्षता र देवदह नगरपालिकाका प्रवक्ता तथा वडा नं. ५ का वडा अध्यक्ष गणेश डुम्रेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा विद्यालयका सञ्चालक समितिका अध्यक्ष जयकिशन अधिकारी, प्रिन्सिपल कृष्णप्रसाद गैरे, सहायक प्रिन्सिपल बेद सूर्यवंशी, युगज्योति माध्यमिक विद्यालयका प्रिन्सिपल यमलाल अर्याल, देवकोटा क्याम्पस सुनवलका प्राध्यापक भिम ढकाल, प्याव्सन देवदहका अध्यक्ष रामबहादुर गुरुङ, एशियन लाइट बोर्डिङ स्कुलका प्रिन्सिपल केशव खनाल लगायतले आ–आफ्ना शुभकामना मन्तव्य राखेका थिए। वक्ताहरूले संस्कारसहितको शिक्षालाई आजको आवश्यकता भन्दै विद्यार्थीलाई अनुशासित र जिम्मेवार नागरिक बन्न प्रेरित गरेका थिए।
कार्यक्रममा कक्षा १२ की विद्यार्थीनी आयुष्मा रिङ्गजालीले स्वागत मन्तव्य राखेकी थिइन् भने सञ्चालन शिक्षक ढृडिराज मरासिनीले गर्नुभएको थियो। यस शैक्षिक सत्रमा कक्षा ११ मा करिब २ सय विद्यार्थी भर्ना भएको विद्यालयले जनाएको छ।




