गोविन्द घर्ती, देवदह । भाषा, संस्कार संस्कृति विना जातिय पहिचान स्थापित हुन नसक्ने रुपन्देहीको देवदहमा आयोजिक एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् । उनीहरुले भाषा, संस्कृतिले मात्र पहिचान स्थापित हुने बताउदै नया पुस्तालाई हस्तान्तरण गर्न आवश्यक रहेकोमा जोड दिएका थिए ।
खेमा तमु छोंज धी देवदहको सातौ बार्षिक साधारण सभामा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । सो अवसरमा बोल्दै तमु छोंज धी गुरुङ्ग राष्ट्रिय परिषदका केन्द्रिय सदस्य एवं लुम्विनी प्रदेश प्रमुख झपतबहादुर गुरुङ्गले शिक्षा विना लक्ष्य प्राप्त गर्न नसकिने हुदा शिक्षालाई प्राथमिकता दिनु पर्नेमा जोड दिनु भयो । उहाले गुरुङ्ग समाज संस्कृतिको धनी भएको बताउदै आफनो भाषा, संस्कार, संस्कृतिको संरक्षणमा सवै एकतावद्ध भएर लाग्नु पर्ने बताउनु भयो । उहाले विदेश पलायन भन्दा पनि स्वदेशमै केही गरेर राष्ट्र र राष्ट्रियता बचाउनको लागि लाग्न आवश्यक रहेको औल्याउनु भयो ।
खेमा तमु छोंज धी देवदहका अध्यक्ष थमनसिंह गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रे, गुरुङ्ग भाषाका अभियन्ता भिममप्रसाद गुरुङ्ग, तमु छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद रुपन्देहीका अध्यक्ष रामबहादुर गुरुङ्ग, तमुस्यो ह्युला छोंज धी रुपन्देहीका सचिव बविता गुरुङ्ग, तमु छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद देवदहका अध्यक्ष मनबहादुर गुरुङ्ग, माङ्गी समुहका मनु गुरुङ्ग, ढेकावर ईकाईका अध्यक्ष लालबहादुर गुरुङ्ग, पर्वत तमु समाजका उपाध्यक्ष बुद्ध गुरुङ्ग लगायतले आ–आफना भनाई राखेका थिए ।
कार्यक्रममा खेमा तमु छोंज धी देवदहलाई योगदान दिनु हुने पुर्वअध्यक्ष, संस्थापक संगै व्यवसायी र विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा अध्यक्ष गुरुङ्गले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष धनकुमारी गुरुङ्गले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । खेमा तमु छोंज धी देवदहका बरिष्ठ उपाध्यक्ष पानबहादुर गुरुङ्गको स्वागत र सचिव विश्व गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।




