देवदह। रोहिणी सामुदायिक वन उपभोक्ता समूह देवदहको आयोजनामा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ। रोहिणी सामुदायिक वनको कार्यालय भलुहीमा आयोजना गरिएको कार्यक्रममा विभिन्न विद्यालयका २० जना प्रतियोगिहरुको सहभागीता रहेको थियो।
पर्यावरण संरक्षणप्रति विद्यार्थीहरुमा जनचेतना बढाउने उद्देश्यले निबन्ध लेखन आयोजना गरिएको र विद्यार्थीहरुलाई नजिकैको वन क्षेत्र अवलोकन गराइएको र अवलोकनका क्रममा विद्यार्थीहरुले वनका विविध वनस्पति, जैविक विविधता, माटो तथा पानीको अवस्थाबारे प्रत्यक्ष अवलकोन गराउँदै प्रतियोगितामा सहभागी गराइएको सामुदायिक वनका शिक्षा उपसमितिका संयोजक केशव राज शर्मा पराजुलीले जानकारी दिए।
प्रतियोगितामा जनप्रीय माविकी छात्रा प्रीया विक प्रथम, न्यू नमुना बोर्डिङ स्कुलका आदित्य थापा द्वितीय, कोलिय इङलिस बोर्डिङ स्कुलका एलिशा सिंजाली तृतीय, सिता माविका विपिन मगर र न्यू नमुना बोर्डिङका नयन थापाले सान्त्वना स्थान हासिल गरेका छन्। प्रतियोगितामा विजेता भएका विद्यार्थीहरुलाई सामुदायिक वनको ११ औं वार्षिक साधारणसभाको अवसरमा पुरस्कृत गरिने संयोजक पराजुलीले जानकारी दिए।
कार्यक्रममा देवदह -१० का वडा सदस्य अमर लामिछानेले वनको महत्व, दिगो संरक्षणका उपायहरू, मानवीय गतिविधिले वातावरणमा पार्ने असर तथा वन–विनाशका जोखिमबारे विस्तृत जानकारी र व्यवहारिक अभ्यासले विद्यार्थीहरुमा वातावरणप्रति जिम्मेवारी र संरक्षणमा सहभागिताको भावना अझै प्रबल बन्ने भन्दै सामुदायिक वनले आयोजना गरेको प्रतियोगिताको प्रसंशा गरेका थिए।
कार्यक्रममा जनप्रीय सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रुका सापकोटा, सीता माध्यमिक विद्यालयका शिक्षक प्रतिनिधि दिपक पाण्डे, जनप्रीय माविबाट सहभागी विद्यार्थी सरिश्मा केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम सामुदायिक वनका अध्यक्ष चन्द्र बहादुर रसाइलीको अध्यक्षता, उपाध्यक्ष निर्मल पराजुलीको धन्यवाद ज्ञापन र कोषाध्यक्ष श्याम थापाको संचालनमा सम्पन्न भएको थियो।




