देवदह । रुपन्देहीको देवदहमा वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ। पूर्वी क्षेत्र निजी विद्यालय परिवार ईप्सा देवदहको आयोजनामा माध्यमिक तहको वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगितामा कुल १३ जनाको सहभागीता रहेको थियो।
प्रतियोगितालाई सम्बोधन गर्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले प्रविधि आजको आवश्यकता भएको उल्लेख गर्नुभयो। उहाँले प्रविधिको सही र जिम्मेवार प्रयोगले जीवनलाई सहज, प्रभावकारी र प्रतिस्पर्धी बनाउने बताउँदै विद्यार्थीहरूलाई अध्ययनसँगै प्रविधिमा दक्ष बन्न प्रेरित गर्नुभयो। साथै, प्रविधिको दुरुपयोगबाट बच्दै सिर्जनात्मक र सकारात्मक कार्यमा यसको प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
माध्यमिक तहको वक्तित्वकला प्रतियोगितामा बुद्ध पब्लिक आवासीय मा.विको आनुष्का भण्डारी प्रथम, सगरमाथा आवासीय मा.विको आरध्या पौडेल द्वितीय, मदरल्याण्ड एकेडेमीको प्रभा कार्की तृतीय र न्यू लुम्बिनी ई.बो.स्कुलको खुशी घर्ती सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन्। प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई क्रमशः नगद रु ५ हजार, ४ हजार, ३ हजार र २ हजार सहित शिल्ड र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो।
माध्यमिक तहको वक्तृत्वकला प्रतियोगितामा प्रस्तुत गरिएको “प्रविधिले हाम्रो जीवनशैली परिवर्तन गरेको छ” शीर्षकअन्तर्गत विद्यार्थीहरूले प्रविधिले शिक्षा, स्वास्थ्य, सञ्चार तथा दैनन्दिन जीवनमा ल्याएको सकारात्मक तथा चुनौतीपूर्ण परिवर्तनबारे आफ्ना विचार व्यक्त गरेका थिए। प्रतियोगितामा निर्णायकको रुपमा परासी क्याम्पसका लेक्चरर अशोक श्रेष्ठ तथा जनसेवा माध्यमिक विद्यालय, सुनवलका शिक्षक यमराज तिमिल्सिना रहनु भएको थियो। कार्यक्रम ईप्सा देवदहका अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षता, कार्यक्रम संयोजक नारायण केवटको स्वागत र कोषाध्यक्ष कृष्ण प्रसाद गैरेको संचालनमा सम्पन्न भएको थियो।




