३ कात्तिक, काठमाण्डौ ।
तिहारमा भारतबाट आयात हुने सयपत्री फूलमा पनि सरकारले प्रतिबन्ध लगाएको छ । सहरी क्षेत्रमा तिहारको समयमा झन्डै ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको छ । १५ प्रतिशत सयपत्री फूल भने आयात हुने गरेको थियो। तर यो वर्ष सयपत्री फूल आयातमा सरकारले रोक लगाएको फ्लोरिकल्चर एसोसिएशन नेपालले जानकारी गराएको छ ।
जावलाखेलमा सुरु भएको १५ औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी मा बोल्दै फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले नेपाल अहिले फूलमा ९० प्रतिशत आत्मनिर्भर भएको बताएका छन ।
साथै उनले विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलमा कमी आउने जानकारी गराएका हुन । विगतका वर्षहरूमा तिहारमा सयपत्री फूल भारतका विभिन्न नाकाबाट आयात हुने गरेको भए पनि यो वर्ष रोक लगाएको उनले जनाए । तिहारमा झन्डै २० लाख सयपत्री, सवा चार लाखभन्दा बढी मखमली र २० हजार गोदावरी फूलको माला खपत हुने एसोसिएशनको अनुमान छ ।