spot_img
spot_img
spot_img

मेरा गणितका गुरु – शरद पोख्रेल

spot_img

 

मेरा गणितका गुरु!

मैले घोकेका साध्य र ज्यामितीहरू
आयतन र परिमितीहरू
अनि बीजगणितका डरलाग्दा
‘ए’ र ‘बि’का सूत्रहरू
खै कहाँ काम लाग्छन् ?
जो बिराउदा कैयौँ चोट पाएका थिए यी हातले
कैयौँ मुर्गा बनाइएका थिए चौरमा
कैयौँ पटक उभ्याइएको थियो डेस्कमाथि
र जबर्जस्ती जान्ने बनाइएको थियो मलाई,
मानौकी मेरो जिन्दगी अब फलिफापको बाटोमा अगाडि लाग्यो

तर अचेल मलाई हजारबार जिन्दगीले फेल घोषणा गर्छ,
हिसाब मिल्दै मिल्दैन जिन्दगीको
गुरु कुन सुत्र प्रयोग गरूँ म?
बाका रसिला आँखाको आयतन कसरी निकाल्नू
आमाका हातको ठेलाको घनत्व कसरी नाप्नू
प्यारीको मेरो अभाव
र छोराको भोकको क्षेत्रफल निकाल्ने सूत्र के हो?
हजुरआमाको लौरी कुन सूत्रले अड्याउने?

माइनस् माइनस् प्लस हुने सुत्रमा
‘दुख दुख’सुख हुन नसकेर फेरि दुख नै हुनु पर्ने
‘आँसु आँसु’हासो नभएर पुन: आँसु नै हुनु पर्ने
यो कुन नियम हो
जो मलाई सिकाउदै सिकाइएन।

ब्ल्याकबोर्डको त्रिभुज र चतुर्भुज खुब नापियो
भित्री कोण र बाहिरी कोण नापियो
कोण कोणमा नापियो
भुजा भुजामा नापियो
तर जिन्दगी त हजारौ भुजाले बन्दो रैछ
न नापिन्छ न देखिन्छ कुनै दृश्यमा
न लेखिन्छ न छापिन्छ कुनै पानामा
भित्री कोण र बाहिरी कोण मात्र कहाँ
रहश्य र जालझेलका करोडौ कोण हुदा रैछन्
घात र प्रतिघातका अनगिन्ती भुजा हुदा रैछन्
जसलाई अनुमानसम्म गराइएन कि
तैले यसरी पनि बाच्नु पर्छ भनी।

सिंगो परिवार बन्धकीमा राखेर
हरियो पासपोर्ट बोकेर परदेश हिडेको
लाहुरेको गरूंगो पाइलाको भार कुन ग्रामले नाप्छ
त्यो बिछोडिदाको मुटुको गति कुन मिटरले नाप्छ
ती झरेका आशु कुन लिटरले नाप्छ
त्यो चोटको गहिराई कुन एकाईले नाप्छ
गुरु यसका कुनै सूत्र छैनन्?

मेरा गणितका गुरु!
मलाई माफ गर्नुहोस् है
तपाईको गणितमा जसोतसो ‘उत्तिर्ण’ भएको म
तर जिन्दगीको गणितमा
लज्जास्पद तरिकाले ‘उत्तारित’ पनि हुन नसकेर
‘लत्तारित’ भैरहेको छु।

गुरु!
मिल्छ भने भाइ बहिनीहरूलाई
गणितसँग जिन्दगीको हिसाब पनि
थोरै थोरै सिकाइदिनुस् न है!

© शरद पोख्रेल, दाङ हाल जापान

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img