बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेले कसैको उक्साहटमा आफुलाई फसाईएको बयान दिएका छन । जिल्ला अदालत काठमाण्डौका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा मङ्गलवार लिईएको बयानमा सन्दीपले यस्तो बताएका हुन । नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले हिजो सोमवार अभियोगपत्र दायर गरेको थियो ।
सन्दीपसँग बयान लिने काम सकिएकाले आज बुधवारदेखि थुनछेक बहस हुने सन्दीप पक्षका वकिल मुरारी सापकोटाले बताएका छन । सन्दीपले बयानका क्रममा आफूप्रति बदनियत र कसैको उक्साहटमा अभियोग लगाएको बयान दिएको उनको भनाइ छ । उहाँले सन्दीपले आफूमाथि लागेको अभियोग झुटो रहेको प्रमाणसमेत पेस गरेको बताए ।
पीडित किशोरीले अनुसन्धानका क्रममा दिएको विवरण र डाक्टहरूको समूहमा स्वास्थ्य परीक्षण गराउँदा दिएको विवरण मेल नखाएको उनले बताए।
सन्दीपमाथि गएको भदौ ५ मा काठमाण्डौको एक होटेलमा एक १७ वर्षीया बालिकालाई लगेर बलात्कार गरेको अभियोग छ । पीडित बालिकाले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।