एजेन्सी//
भारत आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको समूह २ को शीर्ष स्थानमा उक्लेको छ । बुधबार भएको खेलमा बंगलादेशलाई ५ रनले हराउँदै शीर्ष स्थानमा उक्लेको हो । एडिलेड ओभरमा भारतले दिएको १८५ रनको लक्ष्य पछ्याएको बंगलादेशले ७ ओभरमा ६६ रन बनाउँदै गर्दा वर्षाले खेल केही समय स्थगित भएको थियो । १६ ओभरमा खेल झार्दा बंगलादेशले १५१ रनको लक्ष्य पायो ।
बंगलादेशले १६ ओभरमा १४५ रन बनायो । बंगालदेशका लागि लिटन दाशले ६० रनको अर्धशतकीय पारी खेले । त्यस्तै नाजमुल्ला हासनले २१ रन बनाउँदा नुरल हसनले २५ रन जोडे ।
भारतका लागि हार्दीक पाड्या र हार्दीक पाड्याले दुई–दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनायो । भारतका लागि विराट कोहली र केएल राहुलले अर्धशतकीय पारी खेले । ४४ बल खेलेका विराटले ६४ रन बनाए । राहुलले ३२ बल खेल्दै ५० रन बनाए ।
भारतका लागि सुर्यकुमार यादवले ३० रन बनाउँदा रवीचन्द्र आश्विनले १३ रन बनाए । बलिङतर्फ बंगलादेशका लागि हसन महम्दले तीन विकेट लिए । त्यस्तै कप्तान सकिब अल हसनले दुई विकेट लिए ।जितसँगै भारतले ४ खेलबाट ६ अंक जोडेको छ । भारत शीर्ष स्थानमा छ । पराजित बंगलादेश ४ खेलबाट ४ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ ।