विरेन्द्रनगर बजारमा चार दलीय संयुक्त मोर्चाको आयोजनामा आसन्न संसदीय निर्वाचन बहिष्कार र अवज्ञा सभा सम्पन्न गरिएको छ । नेपाल क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेपाल कम्युनिस्ट पार्टी मशाल र माओवादी कम्युनिस्ट पार्टी नेपालको संयुक्त आयोजनामा सभा बिहिबार सम्पन्न भएको हो। सभा सुरु हुनु अगाडि विरेन्द्रनगर बजारमा विभिन्न नारा लगाउदै जुलुस प्रदर्शन गरिएको थियो । संसदीय निर्वाचन बहिष्कार गरौं, चार पार्टीको संयुक्त मोर्चा जिन्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद, भारतीय विस्तारवाद मुर्दावाद, संसदीय दलाल व्यवस्था मुर्दावाद, नौलो जनवादी क्रान्तिको आधार तयार पारौं लगायतका नारा लगाइएको थियो । बजारमा जुलुस प्रदर्शन पछि बजारको पिपल चौतारीमा सभाको कार्यक्रम सम्पन्न भएको थियो ।
सभामा नेकपा क्रान्तिकारी माओवादी स्थायी सदस्य तथा देशभक्त जन गणतान्त्रिक मोर्चा अध्यक्ष कामरेड सिपि गजुरेल गौरव, नेकपा बहुमत संयोजक कामरेड धर्मेन्द्र वास्तोला, नेकपा मशाल केन्द्रिय प्रतिनिधि कामरेड गौरीलाल कार्की र माओवादी कम्युनिस्ट पार्टी नेपाल महासचिव रामनारायण पालले सम्बोधन गरेका थिए । सम्बोधन गर्ने क्रममा सबै वक्ताले अब देश र जनताको संकट संसदीय व्यवस्था र निर्वाचनले समाधान गर्न नसक्ने भएकोले निर्वाचन बहिष्कार गरेर अग्रगामी परिवर्तनको लागि जनता सडकमा आउनुपर्ने आवश्यकता रहेको औल्याएका थिए ।
सभामा नेपाल क्रान्तिकारी माओवादी स्थायी समिति सदस्य कामरेड हरिभक्त कडेल प्रतीक, नेकपा बहुमत सचिवालय सदस्य कामरेड दिपक चलाउने, नेकपा बहुमत सचिवालय सदस्य कामरेड संगम, माओवादी कम्युनिस्ट पार्टी केन्द्रिय सदस्य नारायण प्रसाद धिमाल समेतको आतिथ्यता रहेको थियो । कार्यक्रम नेकपा बहुमत भेरी कर्णाली सह इन्चार्ज कमरेड बालाराम सुनार हिमालको अध्यक्षता, माओवादी कम्युनिस्ट पार्टी नेपाल भेरिकर्णाली संयोजक लोकेन्द्र थापाको स्वागत र नेपाल क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य दिपक शाहीको संचालनबाट सम्पन्न भएको थियो ।