– मनजीत चौधरी
देवदह। राष्ट्रिय जनमुक्ति पार्टीका मुल्याङ्कन तथा अनुगमन संयोजक एवं प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार दल बहादुर बिरकट्टाले जनमुक्ति शासनसत्तामा पुग्यो भने भ्रष्टाचारलाई देशद्रोह सरहको अपराध घोषणा गरी भ्रष्टाचारीलाई आजीवन जेल सजाय र निजको सम्पत्ति राष्ट्रियकरण गरिने व्यवस्था लागू गर्ने बताएका छन् । राष्ट्रिय जनमुक्ति पार्टी देवदह नगर समितिद्वारा आयोजित राजनीतिक भेटघाट कार्यक्रममा उम्मेदवार बिरकट्टाले उक्त कुरा बताएका हुन् ।
देवदहको भलुही चोकमा आयोजित पार्टीको राजनीतिक भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार बिरकट्टाले जनमुक्ति पार्टी सधैं अग्रगमनको बाटोमा हिँडेको प्रष्ट्याउँदै मंसिर ४ मा प्रतिगमनकारी तानाशाहीहरुलाई जनताले ठेगान लगाउनै पर्ने जिकीर गरे । उनले संघीयतालाई व्यवस्थित गर्न, भ्रष्टाचारलाई निर्मूल पार्न, समानुपातिक समावेशीता र धर्मनिरपेक्षतालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न अब जनमुक्तिलाई जिताउनै पर्ने दाबी गरेका छन् ।
त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही निर्वाचन क्षेत्र नं १९१० ले शुक्रबार देवदहको वडा नं ६ र ९ मा चुनावी घरदैलो गरेको छ । मतदाताहरुलाई भेट्दै पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य पदका समानुपातिक उम्मेदवार झम बहादुर गुरुङ्गले मंसिर ४ मा जनताले राष्ट्रघातीहरुलाई पछार्दै देशकै सच्चा र इमान्दार जनमुक्ति पार्टीलाई जिताउनुपर्ने आग्रह गरे । भ्रष्टाचारको अन्त्य नभएसम्म देश समृद्ध नहुने बताउँदै उम्मेदवार गुरुङ्गले अब भ्रष्टाचारको जरो उखाल्न जनमुक्ति नै सत्तामा पुग्नुपर्ने दाबी गरे ।
पार्टीले शुक्रबार देवदहको वडा नं ६ को सरहनटाडीमा बृहत घरदैलो अभियान सम्पन्न गरेको छ । आफुलाई ठूला दल भनाउँदाहरुले चुनाव जितेर सत्तामा पुगेतापनि आफुहरुको विकास हुन नसकेको बताउँदै अब नयाँ नेतृत्व चयन गर्नुपर्ने सरहनटाडीका स्थानीयले बताएका छन् । उनीहरुले मंसिर ४ मा कुनै पनि ठूला दलहरुलाई मत नदिने बताउँदै अब जनमुक्ति नै अन्तिम विकल्प रहेको दाबी गरेका छन् ।
भ्रष्टाचारीलाई आजीवन जेलमा सडाउँछौँ : बिरकट्टा
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??