भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं राप्रपाका वरिष्ठ नेता दीपक बोहरालाई जिताउनुपर्छ भन्दै युवाहरु प्रवेश गरिरहेको पार्टीले जनाएको छ । यसैबीच शनिबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ स्थित कर्णपथमा विभिन्न पार्टी परित्याग गरी एक दर्जन बढी नेता कार्यकर्ता तथा स्थानीय राप्रपामा प्रवेश गरेका छन् । उनीहरुलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पूर्वमन्त्री दीपक बोहराले पार्टीमा स्वागत गर्नु भएको थियो ।
त्यस्तै शनिबार सिद्धार्थनगर नगरपालिका–६ स्थित दुर्गा कलोनीमा आयोजित कार्यक्रममा ५० जना बढी राप्रपामा प्रवेश गरेका थिए । त्यसै गरी सिद्धार्थनगर नगरपालिका–३ खजहनामा आयोजित कार्यक्रममा सयौं संख्यामा युवाहरु राप्रपामा प्रवेश गरेका थिए ।
बिहीबार रुपन्देही क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार नवाब मुसलमान आफ्ना ३ सय जना समर्थकसहित राप्रपामा प्रवेश गरेका थिए । दीपक बोहरालाई समर्थन गर्दै उनी राप्रपामा प्रवेश गरेका हुन् । उनले भने, ‘म पनि चुनावी मैदानमा थिए, तर घरदैलोमा जाँदा, बुझ्दै जाँदा दीपक बोहरा जत्तिको राम्रो र विकासप्रेमी नेता कोही छैन भन्ने महसुस गरे । दीपक बोहरालाई जिताउन लागेको थाहाँ पाए, अनि सोचे जसले जित्दैछ त्यसलाई सहयोग गर्नुपर्छ, त्यसैले राप्रपामा प्रवेश गरेको हुँ । ’ विकासका लागि दीपक बोहरालाई अत्याधिक मतले जिताउनुपर्ने उनको भनाइ छ ।
यसअघि नै ओमसतिया गाउँपालिका वडा नम्बर २ का निवर्तमान वडाअध्यक्ष ज्ञानेश श्रेष्ठ, लुम्बिनी निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष सुन्दर गुप्ता लगायत विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता राप्रपामा प्रवेश गरेका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशकी पूर्वमन्त्री तथा लोसपा नेतृ कल्पना पाण्डे पार्टी परित्याग गरी तीन दलीय तालमेलका उम्मेदवारलाई समर्थन गरेकी छन् । एमाले, राप्रपा र जसपाकोतर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक बोहरा, प्रदेशसभा सदस्यका उम्मेदवार महेन्द्र यादव र तुल्सी चौधरीलाई जिताउन आफू लागिपरेको उनले बताइन् । पूर्वमन्त्री पाण्डेले भनिन्, ‘दीपक बोहरा रुपन्देहीलाई उज्यालो बनाउने दियो हो, विकासप्रेमी नेता बोहरालाई जिताउनु आजको आवश्यकता हो ।’ राप्रपा रुपन्देहीका जिल्ला अध्यक्ष तथा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख सागर प्रताप राणाले राप्रपामा प्रवेश गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको बताए । उनले भने, ‘राप्रपाप्रति जनताको आकर्षण बढ्दै गएको छ । ’ उनले वर्तमान गठबन्धन सरकारले जनताको पक्षमा काम गर्न नसकेको दावी गरे ।
रुपन्देही–३ राप्रपामा प्रवेश गर्नेको संख्या बढ्दै
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??