दीपक/सुमन जैसवाल ।
रुपन्देहीको क्षेत्र नं. ५ मा नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी अभियान तीव्र पारेका छन् । चुनावी अभियानको क्रममा शनिबार सैनामैना नगरपालिकाका विभिन्न स्थानमा कोणसभा तथा घरदैलो गरेको छ । विभिन्न स्थानमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले क्षेत्र नं. ५ का बासिन्दाले परिवर्तन चाहेकाले एमालेको जीत सुनिश्चित रहेको दाबी गर्नु भयो। क्षेत्र नं. ५ मा शिक्षा, स्वास्थ्य, सडक–पूर्वाधार, कृषि, रोजगारीलगायतका तमाम क्षेत्रको विकासको लागि एमालेका उम्मेदवारलाई विजयी बनाउन वहाँले मतदातालाई आग्रह गर्नुभयो।
यस्तै प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बासुदेव घिमिरेले एमाले नेतृत्वको सरकारले मात्र अव्यवस्थित बसोबासी, भूमिहीन र सुकुम्बासीहरुलाई जग्गाको वास्तविक मालिक बनाउने दावी गर्दै मतदातालाई एमाले उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । क्षेत्र नं.५ मा व्यवसायिक कृषिको प्रचुर सम्भावना रहेको बताउँदै वहाँले किसानलाई सिंचाई, मलखाद, कृषि उपजको बजारीकरणलाई प्राथमिकता दिइने बताए । क्षेत्र नं. ५ मा सडक पूर्वाधार, शिक्षा, स्वास्थ्यका धेरै समस्या रहेकोले ती समस्या समाधान गर्न उम्मेदवार घिमिरेले आफू सधैं प्रतिबद्ध रहेको बताउनुभयो ।
यसैगरी प्रदेशसभा सदस्य पदका उम्मेदवार भूमिश्वर ढकालले सैनामैनालगायतका क्षेत्र देखिएका खानेपानी, सडक–पूर्वाधार, शिक्षा, स्वास्थ्यका समस्यालाई समाधान गरिने बताउनुभयो ।। उनले एमाले सरकारलाई षड्यन्त्रपूर्वक ढालिएपछि सुकुम्बासी समस्या समाधानको काम रोकिएको बताउँदै सुकुम्बासी समस्या समाधान गर्न पनि एमाले नेतृत्वको सरकार बन्नुपर्ने बताउनुभयो । यस्तै एमालेका जिल्ला उपसचिव तथा सैनामैना नगरपालिकाका पूर्वप्रमुख चित्र बहादुर कार्कीले एमाले नेतृत्वको सरकारले अघि बढाएको गौतमबुद्ध क्रिकेट रंगशाला लगायतका ठूला विकासका पूर्वाधारलाई पूर्णता दिन एमाले उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गर्नुभयो ।