spot_img
spot_img
spot_img

मोदी र सी जिनपिङबीच जी २० मा भएको संक्षिप्त भेटको भारतमा आलोचना

spot_img

एजेन्सी । इन्डोनेसियाको बालीमा जारी जी–ट्वान्टी शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङबीच सामान्य कुराकानी भएको छ । तथापि दुईबीच औपचारिक वार्ता भने हुन सकेन ।
इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले सोमबार राति शिखर सम्मेलनमा सहभागी नेताहरुका लागि रात्रिभोजको आयोजना गरेका थिए। सोही क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र सी जिनपिङ आमनेसामने भएका थिए । सन् २०२० मा गलवान भारतीय र चिनियाँ सैनिकबीच हिंसा भड्किएपछि दुईबीच पहिलो पटक प्रत्यक्ष कुराकानी भएको हो । मोदी र सीबीचको भेटले भारतमा भने आलोचना निम्त्याएको छ । गलवान घटनाको विषय नसल्टिईकन मोदी र जिनपिङको भेटलाई कांग्रेस र अन्य विपक्ष पार्टीले विरोध गरिरहेका छ । कांग्रेसका सांसद राहुल गान्धी पनि गलवान र चीनको कथित अतिक्रमणलाई लिएर मोदी सरकारविरुद्ध आक्रामक भएका छन् । कांग्रेस पार्टीको ट्विटर ह्यान्डलबाट सी जिनपिङ र मोदीको भेटको भिडियो सेयर गरिदै गलवानमा मारिएका २० जना भारतीय सैनिकको नाम उल्लेख गरिएको छ ।

इन्डोनेसियाको राष्ट्रपति सचिवालयको आधिकारिक युट्युब च्यानलमा राखिएको भिडियोमा अर्कै देशका नेतासँग कुरा गरिरहेका सीसँग कुरा गर्न भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सिटबाट उठेर गएको देखिन्छन् । त्यसपछि प्रधानमन्त्री मोदी राष्ट्रपति सी जिनपिङसँग हात मिलाएर केहीबेर कुराकानी गरेको देख्न सकिन्छ । केहीअघि उज्बेकिस्तानको समरकन्दमा भएको सांघाई सहयोग संगठन (एससीओ) बैठकमा नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि सहभागी भए पनि दुई नेताबीच भेट भएको थिएन ।

जी २० को मोदी र सीको भेटको भिडियो ट्विट गर्दै एआईएमआईएम ओवैसीले लेखेका छन् ‘खै त सरले रातो आँखा देखाउनु भएन त ।’ कांग्रेस नेता विनीत पुनियाले पनि भिडियो ट्विट गर्दै लेखेका छन् ,‘ रातो आखा देखाउने वाचा थियो । चीनले दुई वर्षदेखि हाम्रो सिमानामा घुसपैठ गरेर बसिरहेको छ तर यहाँ उनी उभिएर अभिनन्दन किन भईरहेको छ ?’ अन्य धेरै विपक्षी नेताहरुले पनि मोदी–सीको भेटको विरोध गरेका छन् ।

गलवानमा के भएको थियो ?
सन् २०२० मा भारत र चीनबीच गम्भीर अवस्था सिर्जना भएको थियो । सन् २०२० मे १ मा, पूर्वी लद्दाखको पाङ्गोङ त्सो तालको उत्तरी किनारमा दुई देशका सैनिकहरू बीच झडप भएको थियो। यसमा दुवै पक्षका दर्जनौं सैनिक घाइते भएका थिए । त्यसपछि सो वर्ष १५ जुनमा गलवान उपत्यकामा दुई देशका सैनिकबीच फेरि झडप भएको थियो, जुन पहिलेभन्दा निक्कै हिंसात्मक रह्यो। यसमा भारतका २० सैनिकको मृत्यु भएको थियो । लामो समयसम्म चीनले आफ्ना कति सैनिक मारिए वा घाइते भए भन्नेबारे केही बताएन तर पछि उसले आफ्ना चार सैनिक मारिएको स्वीकार गर्यो ।

कस्तो छ मोदी र सी जिनपिङबीचको सम्बन्ध ?
सन् २०१४ मा प्रधानमन्त्री बने यता नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको भेट बाक्लिएको थियो । ती भेटलाई हेरेर दुई देशबीचको सम्बन्धमा थप सुधार हुने अपेक्षा गरिएको थियो । तर डोक्लाम र गलवान विवादले स्थिति बिर्गन थाल्यो । गलवानमा भएको हिंसापछि प्रधानमन्त्री नरेन्द्र मोदीले सैनिकको शहीद बलिदान व्यर्थ नजाने बताएका थिए । तर त्यतिबेला पनि उनले घटनामा चीनको संलग्नताबारे खुलेका थिएनन्, जसको विपक्षी दलहरुले चर्को आलोचना गरेका छन् । गलवान विवादपछि थप सीमा विवाद आउन नदिन भारत र चीनका सैनिक अधिकारीबीच पटकपटक भेट भइरहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img