नेकपा एमालेले १० भन्दा बढी केन्द्रमा पुनः मतदान गर्न माग गरिएको छ । सोमबार कार्यालय सचिव डा भीष्म अधिकारीले विज्ञप्ति जारी गर्दै स्याङ्जा, दोलखा र गोरखाका बिभिन्न मतदान केन्द्रमा पुनः मतदान गर्न माग गरेका हुन् । स्याङ्जा २ को चापाकोट नगरपालिकाका चारवटा मतदान केन्द्रमा सत्ता गठबन्धनले कब्जा गरी फर्जी मत खसालेको एमालेको आरोप छ । यस्तै दोलखाको तामाकोशी गाउँपालिका २ जफेको कालापानी, जामुने, मालु लगायतका केन्द्रमा पनि सत्ता गठबन्धन दलका कार्यकर्ताले बुथ कब्जा गरेको एमालेकोले दाबी गरेको छ ।
गोरखाका दुवै निर्वाचन क्षेत्रका विभिन्न मतदान केन्द्रमा मृतक र अनुपस्थित मतदाताहरूको नामबाट मतदान गरी व्यापक धाँधली भएको पनि एमालेको आरोप लगाएको छ भने गोरखा क्षेत्र नम्बर १ को विन्द्रावती मावि मसेल, बालकल्याण आधारभूत विद्यालय फुस्रेमाटा, आरुघाट गाउँपालिका १ मान्वु, धार्चे ३ को पार्वती आधारभूत विद्यालयमा पुनः मतदान हुनुपर्ने एमालेको माग छ । गोरखा क्षेत्र नम्बर २ अन्तर्गत सिरानचोक गाउँपालिकाको सरस्वती आधारभूत विद्यालय, वारपाक सुलीकोट गाउँपालिकाको हिमालय मावि सौरपानी, सूर्योज्योति मावि ताकु मतदान केन्द्रमा पनि पुनः मतदान गर्न एमालेले माग गरेको छ । यस्तै बाजुराको त्रिवेणी नगरपालिका(७ घर भएका अनेरास्ववियूका केन्द्रीय सचिवालयका सदस्य चेतन अयडीको सत्ता गठबन्धनका कार्यकर्ताले हत्या गरेको आरोप लगाउँदै एमालेले कारवाहीको माग गरेको छ ।