एजेन्सी । इरानले कतारमा जारी फिफा विश्वकप फुटबलमा पहिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा १० खेलाडीमा समेटिएको वेल्सलाई २–० गोल अन्तरले हराउँदै इरानले पहिलो जित निकालेको हो । अहमद बिन अलि स्टेडियममा इरानको जितमा रौजबेह चेस्मी र रामिन रिजाइनले एक एक गोल गरे । इरानले दुबै गोल खेलको इन्जुरी समयमा गरेको हो । खेलको ९८ औं मिनेटमा चेस्मीले गोल गर्दै इरानलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको १०१ औं मिनेटमा रामिनले गोल गर्दै इरानलाई २–० को रोमान्चक जित दिलाए ।
यस्तै खेलको ८६ औं मिनेटमा वेल्स १० खेलाडीमा समेटियो। वेल्सका गोलकिपर वायन हेनेसीलाई रातो कार्ड दिदै मैदान बाहिरिएका थिए । जितसँगै समूह बीको इरानले २ खेलमा ३ अंक जोडेको छ । इरानले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ । इरान इङ्ल्यान्डसँग ६–२ ले पराजित भएको थियो । पराजित वेल्सले २ खेलमा १ अंक जोडेको छ ।