देवदह // रुपन्देहीको देवदहमा अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सम्मान तथा सहायता सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । देवदह नगरपालिकाको आयोजना र अपाङ्ग समाज सेवा केन्द्रको समन्वयमा सो कार्यक्रम भएको हाे ।
देवदह नगरपालिकाकाे नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङको अध्यक्षतामा भएकाे कार्यक्रममा अपाङ्गता भएका व्यक्तिलाई उचित स्याहार सुशार गर्ने एक घरका सदस्यलाई सम्मान पत्र, दोसल्ला र नगद सहित सम्मान गरिएको थियो भने अपाङ्गता भएका व्यक्तिलाई बल्याङ्केट र सहायता सामग्री हस्तान्तरण गरिएको हो । सम्मान पाउनुहुनेमा तारा चौधरी, प्रकाश तिवारी, गंगा बहादुर रास्कोटि, राम बहादुर सार्की, नारायण/ मन बहादुर सारु, विष्णु बहादुर मगर , तुल बहादुर पुन मगर, छवि जि.सी, रमेश चौधरी, होम बहादुर राना, पुजनी हरिजन लगाएत रहनुभएको थियो । साथै अपाङ्गताको क्षेत्रमा योगदान पुर्याए बापत द लेप्रोसी नेपाल ईम्प्याक्ट परियोजना, नयाँ जीवनका लागि हातेमालो संस्था र सोईया महिला स्वावलम्बी संस्थालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको नगर उपप्रमुख गुरुङले एकतिसौँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको शुभकामना दिदै देवदह नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि विभिन्न कार्यक्रमहरू गरिरहेको बताउनुभयो। उहाले हरेक डिसेम्बर ३ मा विभिन्न कार्यक्रम गरी अपांङ्गता दिवस मनाईने र लक्षित वर्गलाई प्रभाव पर्ने गरि यसलाई निरन्तरता दिने बताउनु भयाे ।
कार्यक्रममा देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्णप्रसाद अधिकारी, नयाँ जिवनका लागि हातेमालो संस्थाको वरिष्ठ परियोजना संयोजक मना पाण्डे लगाएतले बोल्दै अपाङ्गता भएका व्यक्तिहरुको लागि न्युनतम सेवा सरकारले दिने प्रक्रिया सुरु गरेको बताएका थिए । अपाङ्ग समाज सेवा केन्द्रको सह सचिव धर्मप्रसाद सापकोटाको स्वागत र इन्दिरा भुषालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।