पाल्पाको तानसेनदेखि गुल्मीको तम्घास जाने सडकखण्डमा निर्माण कार्य भईरहेको हुदाँ दैनिक १० घण्टा बन्द हुने भएको छ । यस सडक खण्डको सिरुखर्क, माल्मुल क्षेत्रमा सडक चौडा गर्नका लागि बिहीबारदेखि सडक बन्द गरिएको जनाईएको हो । मंसिर २२ गतेदेखि पुस ७ गतेसम्मका लागि दैनिक १० घण्टाका दरले १५ दिनसम्म सडक बन्द गरिएको भन्दै सडक डिभिजन कार्यालय पाल्पाले एक सूचना जारी गरेको छ ।
सडक निर्माणको समय बिहान ५ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र बेलुका ६ बजेदेखि ९ बजेसम्म सडक बन्द रहने सुचनामा उल्लेख गरिएको छ। उक्त क्षेत्रमा सडक बन्द रहे पनि यो सडक खण्ड हुँदै गुल्मी, बागलुङ, अर्घाखाँची जाने आउने साना सवारी साधन भने लुहुङ्ग –बतासेडाँडा भएर चल्न सक्नेछन् ।