लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङको देउखुरीबाट भोलि बुधवार एक कार्यक्रम आयोजना गरी प्रशासनिक कामको सुरुवात गर्ने तयारी गरेको छ । दाङको राप्ती गाउँपालिका मसुरियामा प्रशासनिक केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ, लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका देउखुरीमा बनाइएको हो । साविक राप्ती प्राविधिक शिक्षालयको परिसरभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै अर्थ, कानुन, भौतिक पूर्वाधार, पर्यटनलगायतका मन्त्रालय स्थापना गरिँदैछ ।
२०७७ असोज २० गते प्रदेश सभाको दुई तिहाइ बहुमतले प्रदेश राजधानी र नाम टुङ्गो लगाएको थियो । त्यसको दुई वर्षपछि बल्ल राजधानी कार्यान्वयनले सार्थकता पाउन थालेको हो ।यस्तै प्रदेश सरकारले झण्डोत्तोलन कार्यक्रम गर्ने जिम्मा आन्तरिक मामिला मन्त्रालयले लिएको छ। राप्ती गाउँपालिकाका अध्यक्ष तथा राजधानी व्यवस्थापन मुल समितिका संयोजक प्रकाश विष्टले मंसिर २८ भोली गते झन्डोत्तोलन सहित औपचारिक रूपमा राजधानी कार्यान्वयन मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट गरिने बताएका छन । झन्डोत्तलन प्रदेश प्रमुख अमिक शेरचनले गर्नेछन्।
उद्घाटनको दिन विभिन्न साँस्कृतिक झाँकीहरू प्रदर्शन समेत गर्ने तालिका छ। स्थानीय बजार देखि मन्त्रालयसम्म सरसफाइ गर्ने पनि तालिका छ। राजधानी सारेसँगै पूर्वपश्चिम राजमार्गमा रहेका यात्रु प्रतिक्षालयमा पनि रंग लगाइएका छन्। प्रदेशका १२ वटै जिल्लाका जिल्ला समन्वय प्रमुखहरूलाई बोलाइएको छ।