नेपाल क्रान्तिकारी विद्यार्थी संघ, सुर्खेत जिल्ला समितिको आयोजनामा मंगलबार वीरेन्द्रनगरमा विद्यार्थी भेला सम्पन्न भएको छ। कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले सरकारले शिक्षा बजेट कम्तीमा २४ प्रतिशत नछुट्याएसम्म शिक्षामा ठूलो परिवर्तन नहुने धारणा राख्नुभयो । उहाँले ब्यावहारिक, सिपमूलक तथा उत्पादनमुखी शिक्षा व्यवस्था लागू नभएसम्म बेरोजगारी समस्या समाधान हुने भन्दै नेक्राविसंघले लगाएको शिक्षामा उत्पादन श्रमसँग जोडिएको शिक्षाको नारा झन् सान्दर्भिक भएको तर्क गर्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले देशको सार्वभौमिकता संकटमा रहेको भन्दै युवाविद्यार्थीको आन्दोलनले देशको स्वतन्त्रता तथा स्वाभीमानको रक्षा गर्ने विचार राख्नुभयो। कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् दैलेख जिल्ला अध्यक्ष जग्यबहादुर शाहीले इमानदारीपूर्वक देश र जनताको सेवा गर्न राजनीतिक आन्दोलनमा लाग्नुपर्ने धारणा राख्नुभयो । नेक्राविसंघ, सुर्खेत जिल्ला सम्मेलन तयारी समितिका संयोजक राजन विकको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य हरिसुन्दर बासी, नेक्राविसंघका केन्द्रीय सचिव दिनेश खड्गी, नेक्राविसंघका उत्तम
थापामगर लगायतले आफ्नो विचार राख्नुभएको थियो ।