भारतले महाकाली नदीमा तटबन्ध निर्माणका क्रममा बनाएको अस्थायी तटबन्ध हटाउनमा ढिला गरिरहेको छ । मंसिर २१ गते नेपाल र भारतीय प्रशासनकाबीच भारतको धारचुलामा अस्थायी अर्थात कृत्रिम तटबन्ध १० दिनभित्र हटाउने सहमति भएको थियो, तर १० दिन बित्न लाग्दासमेत भारतले ढुंगामुढा र तारजालीसहितको तटबन्ध नहटाएको हो ।
जिल्ला सदरमुकाम खलंगा पारी भारतले महाकाली किनारमा करिब १ किलोमिटर लम्बाइ, ८ मिटर उचाइ र चौडा पक्की तटबन्ध बनाइरहेको छ । पुरानो सहमति कार्यान्वयन हुनेमा विश्वस्त रहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभएको छ । नदी किनारका अस्थायी संरचना हटाउन १० दिनको समयावधि दिइएको भारतलाई त्यो अवधिमा ती संरचना नहटाए तत्काल बैठक बसी संरचना हटाउन भनिने उहाँको भनाई छ ।