-कौरव खत्री
गुल्मीको मुसिकोट नगरपालिकामा आफ्नै नयाँ भवन बनाएर सेवा दिने वडा नं. ८ पहिलो वडा कार्यालय बनेको छ । मुसिकोट नगरपालिकाका ९ वटा वडा कार्यालय मध्ये केही भाडामा त केही सरकारी भवनबाट सेवा सञ्चालन गरिरहेका छन् । गुल्मीको मुसिकोट नगरपालिका वडा नं ८ को वडा कार्यालयले नवनिर्मित सुविधा सम्पन्न आफ्नै भवनबाट आफ्नो सेवा शुभारम्भ गरी सेवा प्रवाह गर्न लागेको हो। भवन शुभारम्भ समारोहमा बोल्दै मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेल जीवनले सेवा प्रवाहमा भवन निर्माणले सहयोग पुग्ने बताउनु भयो । साथै नगरप्रमुख खरेलले वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउँदै नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै मुसिकोट नगरपालिकाका नगर उपप्रमुख गंगा श्रेष्ठले मुसिकोट नगरपालिकाले पूर्वाधार तर्फ पहिलो वडा कार्यालय भवन निर्माण सम्पन्न गरेर सेवा प्रारम्भ गरेको भन्दै वडा कार्यालय भवन निर्माणमा खट्ने सबैलाई धन्यवाद दिनुभयो । त्यस्तै मुसिकोट नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत बिनोद कुँवरले बस्ती र भुगोलका दृष्टिले समेत सुगम स्थानमा वडा कार्यालय भवन निर्माण भएकोले सेवा प्रवाहमा थप सहज हुने बताउनुभयो । साथै उहाँले जनप्रतिनिधि र कर्मचारीले जनताको भावना बुझेर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । साथै मुसिकोट नगरपालिका वडा नं ८ का वडाध्यक्ष रमेश विश्वकर्माले सबै नागरिकलाई पायक पर्ने ठाउँमै वडाको नयाँ भवन निर्माण भएको भन्दै भवन निर्माणमा समन्वय र सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभयो ।
साथै मुसिकोट नगरपालिकाका वडा नं ८ का पूर्व वडाध्यक्ष नारायण सापकोटाका अनुसार २ तले पक्की भवन ८८ लाख लागतमा निर्माण सम्पन्न भएको हो । उक्त ठाउँमा भवन निर्माण गर्न वडा कार्यालयले ३३ लाखको जग्गा समेत खरिद गरेको थियो । लुम्बिनी प्रदेश सरकार,सांसद विकास कोष र मुसिकोट नगरपालिकाको सयुंक्त लगानीमा गत २०७८ साल पौष ११ गते भवनको सिलन्यास गरिएको थियो । भवन एसआरपी ग्रुपले निर्माण गरेको मुसिकोट नगरपालिकाका सुचना प्रविधि अधिकृत समुन्द्र विक्रम रायमाझीले जानकारी दिनुभयो । सोही भवन शुभारम्भ कार्यक्रममा वामी गाविसका पूर्व अध्यक्ष हरिनारायण सापकोटा, नेकपा एमाले मुसिकोट नगर कमिटी अध्यक्ष प्रकाश काफ्ले,मुसिकोट नगरपालिका वडा नं ९ का वडाध्यक्ष भुमा गुरुङ र नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णु कुमारी सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
मुसिकोट नगरपालिकाका वडा नं २, ३, ४ र ७ नं वडा कार्यालय घर भाडामा लिएर सञ्चालनमा रहेका छन् भने वडा नं १, ५ र ६ नं वडा कार्यालय पूरानो गाविस भवन र वडा नं ९ वडा कार्यालय सामुदायिक भवनबाट आफ्नो सेवा प्रवाह गरिरहेको मुसिकोट नगरपालिकाका सुचना अधिकारी मुना ज्ञवालीले जानकारी दिनुभयो ।
साथै मुसिकोट नगरपालिकाको वडा नं ९ वडा कार्यालयले भवन निर्माणका लागि जग्गा व्यवस्थापनको टुगों लगाएको छ । गतवर्ष जग्गा खरिद गरेपनि भवन निर्माणका लागि केन्द्र या प्रदेश सरकारकै बजेटको भर पर्नु पर्ने हुनाले बजेट सुनिश्चित हुना साथ वडा नं ९ ले पनि भवन निर्माणको कार्य थाल्ने सुचना अधिकारी ज्ञवालीले बताउनुभयो । त्यस्तै वडा नं ३ को पनि जग्गा खरिदको काम अन्तिम चरणमा पुगेको वडाध्यक्ष शकंर बहादुर रायमाझीले जानकारी दिनुभयो । वडा कार्यालय निर्माणका लागि प्रति रोपनी ४ लाखका दरले ५ रोपनी जग्गा खरिदको कार्य आगामी आर्थिक वर्ष भित्र सम्पन्न हुने सुचना अधिकारी ज्ञवालीले बताउनुभयो ।
वडा कार्यालय शुभारम्भको अवसरमा वडा भित्र रहेका १४ जना जेष्ठ नागरिकहरुलाई समेत सम्मान गरिएको थियो । कार्यपालिका सदस्य सम्झना कुँवरको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने मुसिकोट नगरपालिका योजना शाखा प्रमुख बिष्णु खरेलले गर्नुभएको थियो ।